३६ अर्ब विनाश गर्नेहरू विकासको भ्रम छर्दै जनता झुक्याउन व्यस्त छन् : रञ्जित तामाङ

काठमाडौँ । निर्वाचनको मिति नजिकिएसँगै झापा–५ को राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । यस क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेका नेपाली कम्युनिस्ट पार्टीका युवा नेता रञ्जित तामाङले आसन्न निर्वाचनलाई ‘देशको भाग्य र भविष्य बदल्ने निर्णायक लडाइँ’ को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता तामाङले विगतमा देशलाई अर्बौँको क्षति पुर्‍याउने शक्तिहरू नै अहिले विकासको मुकुण्डो लगाएर जनताको घरदैलोमा पुगेको आरोप लगाए। उनले भने, “३६ अर्ब रुपैयाँ बराबरको विनाश निम्त्याउनेहरू नै आज रंगीन सपना र खोक्रा आश्वासन बाँडेर मतदाता झुक्याउने प्रयासमा छन्। यस्ता शक्तिबाट सचेत रहनु आजको प्रमुख आवश्यकता हो।”

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाह जस्ता प्रभावशाली व्यक्तित्वहरूसँगको प्रतिस्पर्धामा रहेका तामाङले यो चुनावलाई सत्ता प्राप्तिको माध्यम मात्र नभई ‘अतिवाद र जनताबीचको सीधा संघर्ष’ का रूपमा व्याख्या गरेका छन्।

“यो लडाइँ कुर्सी वा व्यक्तिको होइन, देश बचाउने कि बर्बाद पार्ने भन्ने सवालको हो,” तामाङले उल्लेख गरेका छन्, “फेरि पनि उही शक्तिहरूसँग झुक्किनु देश र आगामी पुस्तामाथि अर्को ठूलो धोका हुनेछ। आजको एउटा गलत निर्णयले भोलिको पुस्तालाई भारी मूल्य चुकाउन बाध्य पार्नेछ।”

झापा–५ मा तामाङको यो आक्रामक र वैचारिक उपस्थितिले चुनावी बहसलाई थप रोचक बनाएको छ। हेभिवेट नेताहरूबीचको यो त्रिपक्षीय भिडन्तलाई राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै