गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद बिहीबार सकिँदै

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रो पटक थप्ने तयारी भएको छ ।

आयोग गठन गर्दा सुरुमा ३ महिनाको समय दिएर घटनाको जाँचबुझ गरी प्रतिवेदन तयार पार्न भनिएको थियो । तर उक्त समयमा आयोगले काम नसकेपछि एक महिना म्याद थप गरिएको थियो । थपिएको म्याद पनि यही माघ ८ गते बिहीबार सकिँदै छ ।

‘प्रतिवेदन लेखनको काम सकिएको छैन । प्रतिवेदन लेखनका लागि अझै १५, २० दिन लाग्न सक्छ’, आयोगका प्रवक्ता विज्ञानराज शर्माले रातोपाटीसँग भने, ‘म्याद थप्ने÷नथप्ने सरकारको निर्णयमा भर पर्छ ।’ प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अध्यक्ष कार्कीले यसबारे प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर काम नसकिएकाले आयोगले गरेका काम र बाँकी कामबारे जानकारी गराएका थिए । आयोग अध्यक्ष कार्कीको आग्रहलाई प्रधानमन्त्री कार्कीले भने कुनै जवाफ दिइसकेकी छैनन् ।

‘अध्यक्ष कार्कीको कुरा प्रधानमन्त्रीले सुन्नु भएको छ तर कुनै जवाफ दिइसकेको जानकारी छैन’, प्रधानमन्त्री कार्कीको सचिवालयका एक सदस्यले भने– ‘सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल गरेर निर्णय आउन सक्छ ।’ आयोगले भदौ २३ र २४ गतेको घटनासँग सम्बन्धितहरूको बयान सकेर प्रतिवेदन लेखनको काम ८० प्रतिशत जति सकेको बताइएको छ । गत असोज ८ गतेदेखि काम थालेको आयोगले तोकिएको तीन महिना सकिएपछि पुसमा एक महिना थपिएको थियो ।

बढाइएको अवधिमा पनि काम नसकिएको भन्दै आयोगले अरू १५,२० दिन म्याद बढाउन आग्रह गरेको हो । पछिल्लो पटक थप गरिएको समय ८ माघ (बिहीबार) सकिँदैछ । यसबिचमा आयोगले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, सुरक्षा प्रमुखहरु, मुख्यसचिव, सचिव, काठमाडौँका प्रमुख जिल्ला अधिकारी, काठमाडौँ महानगरका तत्कालीन प्रमुख, विभिन्न जिल्लामा त्यसबेला सुरक्षामा खटिएका कमान्डर र जेनजी अभियन्ताहरुसँग समेत बयान लिएको थियो ।

भदौ २३ को घटनामा राज्य पक्षबाट र २४ मा प्रदर्शनकारीबाट विध्वंस मच्चाइएको थियो । दुई दिनको उक्त घटनामा मुलुकमा ठुलो धनजनको क्षति भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै