कालिकोट । आगामी निर्वाचनका लागि टिकट वितरणमा असन्तुष्टि जनाउँदै कालिकोटमा नेपाली कांग्रेस र नेकपाका नेताहरूले आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीले पार्टीका आधिकारिक उम्मेदवार हर्षबहादुर बमविरुद्ध उम्मेदवारी दिएका हुन् । यसअघि २०७० र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार बनेका शाहीले यसपटक टिकट नपाएपछि विद्रोह गरेका हुन्।
पछिल्लो समय डा. शेखर कोइराला समूहमा सक्रिय शाहीले सभापति गगन थापासँगको वैचारिक असहमति र टिकट वितरणको कार्यशैलीप्रति सार्वजनिक रूपमै असन्तुष्टि पोख्दै आएका थिए । सभापति थापा पक्षले भने शाही यसअघि दुई पटक पराजित भइसकेकाले नयाँ अनुहारलाई अवसर दिन बमलाई टिकट दिइएको दाबी गरेको छ।
त्यस्तै, कालिकोटमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पनि विद्रोह देखिएको छ । नेकपाका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध सोही पार्टीका नेता जीवन बुढाले ‘बागी’ उम्मेदवारी दर्ता गराएका छन् ।
जिल्लाका दुई ठूला दलभित्र देखिएको यो आन्तरिक कलहले चुनावी प्रतिस्पर्धालाई थप रोचक र चुनौतीपूर्ण बनाइदिएको छ ।