झापा पुगेर ओलीको गर्जनः ‘देश जोगाउन पुन: मैदानमा आएको हुँ’

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी क्षेत्र झापा–५ को फैसला यसपटक पनि जनताकै हातमा रहेको बताएका छन् । झापाको दमकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले आफू जनताको मतको सम्मान गर्न र विकासको अभियानलाई निरन्तरता दिन पुनः चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।

देश जोगाउने र बनाउने अठोट

ओलीले विपक्षीहरूप्रति लक्षित गर्दै प्रश्न गरे, “के घर भत्काएर मात्रै देश बन्छ ? देशलाई संकटमा धकेल्नेहरूबाट जोगाउन र विकासको लहर ल्याउन म फेरि उम्मेदवार भएको हुँ।” उनले एमालेलाई ‘भिलेन’ करार गर्ने प्रयास सफल नहुने दाबी गर्दै आफ्नो कार्यकालमा भएका विकासका काम नै जितको आधार भएको बताए।

टिकट वितरणमा एमाले पारदर्शी

टिकट वितरण र आन्तरिक लोकतन्त्र पार्टीभित्रको टिकट वितरणलाई लिएर भइरहेको चर्चाबारे उनले भने, “एमाले पारदर्शी छ, त्यसैले यहाँ तर्क-वितर्क र छलफल हुन्छ, जुन बाहिर सुनिन्छ । लाखौँ कार्यकर्ता भएको पार्टीमा एक-दुई जनाको असन्तुष्टि ठुलो कुरा होइन।” उनले पार्टीले क्षमता र ‘तौल’ हेरेरै उम्मेदवार चयन गरेको टिप्पणी गरे ।

चुनावी तालमेल र गठबन्धन कांग्रेससँगको सम्भावित सहकार्यबारे सोधिएको प्रश्नमा ओलीले ‘गठबन्धन’ शब्दप्रति असहमति जनाउँदै केही स्थानमा ‘चुनावी तालमेल’ हुन सक्ने संकेत गरे । उनले झापा–३ मा राप्रपासँगको तालमेलबारे भने अहिले नै केही नसोचिएको बताए ।

निराशा होइन, उत्पादनमा जोड

देशमा अवसर छैन भन्नेहरूलाई जवाफ दिँदै उनले भने, “अहिले अकबरे खुर्सानी र तरकारी खेतीबाटै मानिसले लाखौँ-करोडौँ कमाइरहेका छन् । खेत बाँझो राखेर विदेशमा मात्र सुन फल्छ भन्नु गलत हो।” उनले केही भएन भनेर निराश नहुन युवाहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै