निर्वाचन आयोग अगाडि कांग्रेसका दुई पक्षबीच तनाव: प्रहरीद्वारा उच्च सतर्कता, बाटो ठप्प

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवादलाई लिएर निर्वाचन आयोगको कार्यालय बाहिर तनाव उत्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र विशेष महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्ने गगन थापा पक्षका कार्यकर्ताहरूबीच चर्को नाराबाजी भएपछि स्थिति असामान्य बनेको हो ।

गत पुस २७ देखि ३१ गतेसम्म भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । तर, संस्थापन (देउवा) पक्षले उक्त महाधिवेशनलाई अवैधानिक भन्दै आएको छ। दुवै पक्षले आधिकारिकताका लागि आयोगमा निवेदन दिएका छन् ।

आयोग बाहिरको दृश्य:

नाराबाजी: देउवा पक्षका कार्यकर्ताले ‘अरू हामी जान्दैनौं, विशेष भेला मान्दैनौं’ भन्दै नारा लगाएका छन् भने गगन पक्षले ‘सानेपा खाली गर, गगन थापा आउँदैछन्’ भन्दै शक्ति प्रदर्शन गरिरहेका छन्।

प्रहरीको घेरा: सम्भावित झडप रोक्न ठूलो संख्यामा जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ। दुई पक्षको बीचमा प्रहरीले सुरक्षा पर्खाल बनाएको छ।

सुरक्षा तयारी: स्थिति नियन्त्रण बाहिर जान नदिन प्रहरीले ‘वाटर क्यानन’ सहितको टोलीलाई तयारी अवस्थामा राखेको छ।

सडक अवरुद्ध: नाराबाजी र भिडका कारण कान्तिपथ क्षेत्रको सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ, जसले गर्दा सर्वसाधारण मर्कामा परेका छन्।

निर्वाचन आयोगले कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा आजै निर्णय सुनाउन सक्ने सम्भावना रहेकोले दुवै पक्षले दबाब बढाउन आयोग घेराउ गरेका हुन्। प्रहरीका अनुसार स्थिति थप तनावपूर्ण बन्न नदिन थप सुरक्षा बल मगाइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै