काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन् ।
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उनको नाम समावेश थियो । पार्टीभित्र र बाहिर ‘नातावाद’ लाई प्रश्रय दिएको भन्दै चर्को आलोचना र असन्तुष्टि बढेपछि संज्ञाले सोमबार निर्वाचन आयोग पुगेर आधिकारिक रूपमा आफ्नो नाम फिर्ता लिएकी हुन् ।
कास्की घर भएकी संज्ञा नेपाल महिला संघको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएकी छन् । यद्यपि, राष्ट्रपति पदमा रहेका व्यक्तिको परिवारका सदस्यलाई समानुपातिक सूचीमा प्राथमिकता दिएको भन्दै कांग्रेसभित्रका युवा नेता र कार्यकर्ताहरूले ‘विरासत र नातावाद’ को विरोध गर्दै आएका थिए ।
आफूविरुद्ध पार्टीभित्रै व्यापक असन्तुष्टि देखिएपछि उनले नैतिकताको आधारमा नाम फिर्ता लिएको बुझिएको छ ।