काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र सरकारको नेतृत्वमा रहने समय सीमा तोक्ने गरी ऐतिहासिक सांगठनिक प्रस्ताव अघि सारेका छन् । । सोमबार बिहान ८ बजेदेखि सुरु हुने विशेष महाधिवेशनको बन्दसत्रमा उनले सो प्रतिवेदन पेस गर्नेछन् ।
१-२-३-४ को नयाँ मोडेल:
महामन्त्री शर्माको प्रतिवेदनमा पार्टीका नेताहरूले राजकीय पदमा रहने अवधि स्पष्ट तोकिएको छ । जसअनुसार:
१ पटक: राष्ट्रपति
२ पटक: प्रधानमन्त्री
३ पटक: मन्त्री
४ पटक: सांसद
यो व्यवस्था लागू भएमा एकै व्यक्ति पटक-पटक एउटै पदमा दोहोरिने परम्पराको अन्त्य हुनेछ।
जेनजी र युवा प्रतिनिधित्व:
पार्टी संरचनालाई आधुनिक र युवामैत्री बनाउन प्रतिवेदनले ‘जेनजी’ (Gen-Z) पुस्ताको प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ । केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३० देखि ४० वर्ष उमेर समूहका २० जना युवाहरूको प्रतिनिधित्व अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । यो व्यवस्था वडा तहसम्मै लागू गरिनेछ ।
‘ल्याट्रल इन्ट्री’ र अन्तर्राष्ट्रिय संरचना:
पार्टीलाई विज्ञतासँग जोड्न विभिन्न पेसा, व्यवसाय र बौद्धिक क्षेत्रका व्यक्तिहरूलाई सिधै पार्टीको जिम्मेवारीमा ल्याउने गरी ‘ल्याट्रल इन्ट्री’ को व्यवस्था प्रस्ताव गरिएको छ ।
यस्तै, प्रवासमा रहेका नेपालीहरूलाई समेट्न २७ सदस्यीय ‘अन्तर्राष्ट्रिय परिषद्’ बनाइनेछ । जसमा विभिन्न देशका जनसम्पर्क समितिका वर्तमान र पूर्वअध्यक्षहरू सदस्य रहनेछन् ।
बन्दसत्रमा अर्का महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । यी दुवै प्रतिवेदनमाथि हुने छलफल र निर्णयले नेपाली कांग्रेसको आगामी वैचारिक र सांगठनिक बाटो तय गर्नेछ ।
३४ वर्षमा ३० सरकार फेरिए तर जनताले सास्ती मात्र पाए, अब केस्राकेस्रा केलाउँछौँ: महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विगत ३४ वर्षमा भएका पटक-पटकका सत्ता परिवर्तनले नेताहरूलाई सन्तुष्टि दिए पनि आम नागरिकको अवस्था नफेरिएको स्वीकार गरेका छन्।
आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले नागरिकका हरेक असन्तुष्टिलाई ‘केस्राकेस्रा’ केलाएर पार्टीले नयाँ संकल्प गर्ने बताए । उनले भने, ‘कसैले लाइभ वा युट्युबमा हेर्दै हुनुहुन्छ भने ढुक्क हुनुहोस्, तपाईंका प्रत्येक असन्तुष्टि र गुनासाहरू हामी यस महाधिवेशनमा बुँदा-बुँदा छलफल गर्नेछौँ । कांग्रेसलाई फेरि मतदान गर्नुअघि हामी आफ्ना कमजोरी नदोहोर्याउने संकल्प गर्छौँ ।’
प्रशासनिक सास्ती र सरकारी असफलता प्रशासनिक सेवामा नागरिकले भोग्नुपरेको सास्तीप्रति टिप्पणी गर्दै उनले भने, ‘३४ वर्षमा ३० वटा सरकार बन्दा प्रधानमन्त्री बन्नेहरूलाई सन्तुष्टि मिल्यो होला, तर सेवाग्राहीलाई मिलेन। सिडिओ वा मन्त्रीलाई सञ्चो मिल्यो होला, तर एउटा कोठाबाट अर्को कोठा धाउने नागरिकलाई सास्ती मात्र भयो। खेतीको बेला मल नपाउने किसान मन्त्रीको अनुहार सम्झेर चित्त बुझाउन तयार छैन।’
‘जेनजी’ आन्दोलन र भदौ २३ को घटना पछिल्लो समय युवा पुस्ताले गरेको ‘जेनजी’ आन्दोलनलाई सम्बोधन गर्दै शर्माले ती युवाहरू आफ्नै काखमा हुर्किएका छोराछोरी भएको बताए। भदौ २३ गतेको घटनामा सरकारले अत्यधिक बल प्रयोग गरेको स्वीकार गर्दै उनले त्यसलाई इतिहासकै ठूलो भूलको रूपमा चित्रण गरे।
‘त्यो रात र कयौँ रात हामी निदाउन सकेनौँ,’ भावुक हुँदै उनले भने, ‘संसद भवन जोगाउने नाममा नागरिकको ज्यान जानु हुन्नथ्यो। यदि भिड व्यवस्थापन सही ढङ्गले गरिएको भए भोलिपल्टको दुःखद घटना हुने थिएन। हामी प्रतिवेदनमै यो कुरा लेख्नेछौँ कि सरकारबाट बल प्रयोग अत्यधिक भएको हो।’
उनले घुसपैठ र तोडफोडको जिम्मा आन्दोलनकारी युवाहरूले लिनु नपर्ने भन्दै सिंहदरबार जस्तै संरचनाहरू सबै पुस्ताको साझा सम्पत्ति भएको उल्लेख गरे।
छुट्ला नी !!
कांग्रेस दास र लासहरूको संगठन होइन, जिउँदाहरूको पार्टी हो: गगन थापा
३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी
नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल
सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी
पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा
विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की
महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन