कांग्रेस दास र लासहरूको संगठन होइन, जिउँदाहरूको पार्टी हो: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस कुनै व्यक्तिको नभई ‘जिउँदा’ कार्यकर्ताहरूको पार्टी भएको बताएका छन्।

आइतबार राजधानीको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र प्रश्न गर्न पाउनु लोकतान्त्रिक अधिकार भएको जिकिर गरे । उनले कांग्रेसलाई दास र लासहरूको संगठन नबनाउन चेतावनी दिँदै भने, ‘यो कुनै बाको संगठन होइन, यहाँ प्रश्नहरू छन् र ती सोध्न पाइन्छ । जसले प्रश्न गर्दैन, उसले उत्तर पनि दिन सक्दैन ।’

प्रश्नहरूले नै कांग्रेसलाई जीवन्त राख्ने तर्क गर्दै थापाले जिउँदो कांग्रेसले मात्रै मुलुकका समस्या समाधान गर्न सक्ने उल्लेख गरे । सम्बोधनका क्रममा उनले सभापति शेरबहादुर देउवाको विगतको संघर्षको सम्मान गरे पनि वर्तमान कार्यशैलीप्रति भने कडा आलोचना गरे ।

सभापति देउवाले आफ्नो वाचा पूरा नगरेको भन्दै थापाले प्रश्न गरे, ‘मङ्सिरभित्र महाधिवेशन सम्पन्न गर्छु भनेर तपाईंले कार्यवाहक दिएर सबै कुरा छाडेर जानुभएको होइन ? खै त अहिलेसम्म महाधिवेशन भएको ?’

महामन्त्री थापाले नेतृत्वले गरेको प्रतिबद्धता पूरा नहुँदा पार्टीले अहिलेको बाटो रोज्नुपरेको स्पष्ट पारे । आजदेखि कांग्रेसको पुरानो पद्धति भत्किएको उनले घोषणा गरे। ‘लामो समयदेखि पार्टी सञ्चालनको जुन तरिका थियो, आजदेखि त्यो भत्कियो। अब कसैले पार्टीको सदस्यलाई हेप्न सक्दैन,’ थापाले भने, ‘अब तल बसेको सदस्यलाई माथि बसेकाले निहुरिएर नमस्ते गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ।’

नेतृत्वको लागि विशेष महाधिवेशन आयोजना नगरिएको उनको भनाइ थियो। ‘यो पार्टीभित्रको सत्ता संघर्ष होइन, विचारको संघर्ष हो,’ उनले भने।

जेनजी आन्दोलनपछि पार्टीलाई नयाँ ढंगबाट अगाडि बढ्न विशेष महाधिवेशन गरिएको उनको भनाइ थिाये। ‘भाद्र २३ गते गैरन्यायिक हत्या पनि भयो, २४ गते उपद्रोह पनि भयो,’ उनले भने, ‘जेनजी रिसाएर सडकमा आएको हो। किन रिसायो? राजाको छोरा राजा हुने व्यवस्था फालेर आएको गणतन्त्रमा नेपोबेबीहरूको राजदेखेर रिसाएको हो।’

महाधिवेशनले नेता र नीति मात्र होइन, विधान पनि बदल्न सक्छ

महामन्त्री थापाले पार्टीको विशेष महाधिवेशनले नेतृत्वदेखि विधानसम्म परिवर्तन गर्न सक्ने बताए । थापाले कांग्रेसमा महाधिवेशन नै सबैभन्दा शक्तिशाली निकाय भएको जिकिर गरे । ‘कांग्रेसको विधानले भन्छ— महाधिवेशनभन्दा ठूलो केही छैन,’ थापाले भने, ‘महाधिवेशनले चाहेमा नेता छान्छ र नेता बदल्छ पनि । यसले नीति र विधान समेत बदल्ने सामर्थ्य राख्छ।’

थापाले यो महाधिवेशन कुनै निश्चित व्यक्तिले नभई महाधिवेशन प्रतिनिधिहरूले नै आयोजना गरेको स्पष्ट पारे । केन्द्रीय कार्यसमितिले आयोजना नगरेका कारण यसका एजेन्डाहरू पहिले नै तय नभएको भन्दै उनले सबै निर्णयको अधिकार बन्दसत्रको ‘हल’ लाई सुम्पिए ।

उनले भने, ‘यो यात्रा कहाँ पुगेर टुङ्गिन्छ, मलाई थाहा छैन । तपाईं प्रतिनिधिहरूले नै नीति र नेता दुवै बदल्ने माग गर्नुभएको हो । यो मेरो व्यक्तिगत माग होइन, तपाईंहरूको भावना हो । बन्दसत्रको यो हलले जे निर्णय गर्छ, त्यो मेरा लागि पूर्ण रूपमा स्वीकार्य हुनेछ ।’

थापाले विशेष महाधिवेशनको बन्दसत्रबाट निस्कने निष्कर्षले नै कांग्रेसको आगामी दिशा तय गर्ने समेत उल्लेख गरे ।

मसँग बीपीको विचार र गणेशमानको साहस छ, कांग्रेस बदल्न म डढ्न पनि तयार छु

महामन्त्री थापाले आफू बीपी र गणेशमानको रगत नभए पनि उनीहरूको विचार र साहसको सच्चा उत्तराधिकारी भएको बताए ।   विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले पार्टी रूपान्तरणका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको उद्घोष गरे ।

उनले भने, ‘म बीपीको छोरा होइन, गणेशमानको छोरा पनि होइन ।  मेरो शरीरमा उनीहरूको रगत छैन, तर मसँग बीपीको विचार र गणेशमानको साहस छ ।’

उनले पार्टीलाई सही दिशा दिन र देशलाई भरोसा दिलाउन रूपान्तरणकारी निर्णय गर्नुपर्नेमा जोड दिए। सभापति शेरबहादुर देउवालाई बन्दसत्रमा सहभागी हुन आग्रह गर्दै उनले नेतृत्वलाई सोमबारसम्म पर्खने बताए। ‘आउने वा नआउने नेतृत्वको मर्जी हो, तर निर्णय गर्ने तपाईं प्रतिनिधिको मर्जी हो,’ उनले थपे, ‘ठण्डा दिमागले सोच्नुहोस्, तपाईंहरूले जे निर्णय गर्नुहुन्छ, हामी त्यही मानेर अघि बढ्नेछौँ।’

कांग्रेसलाई पुनर्जीवन दिन आफू व्यक्तिगत रूपमा हार्न पनि तयार रहेको भन्दै उनले भावनात्मक अभिव्यक्ति दिए। थापाले भने, ‘युद्ध जित्न कहिलेकाहीँ लडाइँ हार्नुपर्छ, हामी हार्न तयार छौँ। कहिलेकाहीँ ज्वालालाई जोगाउन आफू डढ्नुपर्छ, हामी डढ्न पनि तयार छौँ, मात्र नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनका लागि।’

छुट्ला नी !!

कांग्रेसमा विश्वप्रकाशको ‘१-२-३-४’ प्रस्ताव: एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री बन्न पाउने

३५ वर्षसम्म हामीले बाटो बिरायौँ, अब ५० प्रतिशत नयाँ अनुहारलाई टिकट दिऊँ: विनोद चौधरी

नेतृत्व रक्षाका लागि कांग्रेस सिध्याउने कि कांग्रेसका लागि नेतृत्व फेर्ने ?: प्रदीप पौडेल

सबै भ्रष्टाचार काण्डको छानबिन गरी ५०० र १००० का नोट बन्द गरौँ: अर्जुन नरसिंह केसी

पार्टी नफुट्ने गरी विकल्प खोजौँ, सभापति बन्दसत्रमा आउनुपर्छ: सुनिल शर्मा

विशेष महाधिवेशन ‘मालिकको आदेश’ होइन, कार्यकर्ताको संरचना हो: पूर्वमुख्यमन्त्री कार्की

महामन्त्रीद्वयको अगुवाइमा कांग्रेसको विशेष महाधिवेशन सुरुः ५४ प्रतिशत प्रतिनिधिको समर्थन

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै