काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकतर्फी रुपमा एकता भङ्ग गरेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलन गर्दै घिसिङले आफूहरुलाई एकतापछिको १२ दिन पीडादायी भएको बताउँदै आज एकतर्फी रुपमा एकता भङ्ग गरेको आरोप लगाएका हुन् ।
घिसिङले रास्वपाले सहमति भङ्ग गरेको भन्दै उनले १२ दिनसम्म हाम्रो अभियानलाई ब्लक गरेर ठूलो क्षति पुर्याएको समेत आरोप लगाए । उनले उज्यालो नेपाल पार्टीले आफ्नो बाटो आफैँ लिने बताउँदै आफू अत्यन्त लचक भएर त्याग गर्दा पनि त्यसलाई आफ्नो कमजोरीको रुपमा लिएको बताए ।
घिसिङले भने- ‘ म आज अत्यन्त मर्माहत भएको छु । यस बीचमा अगाडि बढौं भने उहाँहरुले अगाडी बढ्न नदिने, पछाडि जाउ भने जान नसक्ने, हामीलाई १२ दिन अत्यन्त अप्ठ्यारो अवस्थामा पुगेका थियौं ।’
जनताको भावनालाई कदर गर्नुपर्छ भनेर आफूहरु सहमतिमा गएको भएपनि सहमति कार्यान्वयन नभएको र एकतर्फी रुपमा सहमति तोडिएपछि आफूहरु आफ्नै किसिमले अगाडि बढ्ने बताए । उनले उज्यालो नेपाल पार्टीले १६५ सिटमै उम्मेदवार उठाउँछौं र छोटाे समय भएकाले आफ्नो निर्वाचन अभियान अगाडि बढाउने बताए ।
उज्यालो नेपाल पार्टीले आजदेखि औपचारिक रुपमा घिसिङलाई अध्यक्षमा नियुक्त गरेको छ ।