काठमाडौँ । आइतबारदेखि काठमाडौँमा सुरु हुन लागेको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन रोक्न सभापति शेरबहादुर देउवाले प्रयास तीव्र पारेका छन्। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफ्नो अडान नछाडेपछि देउवा अहिले संकट टार्ने अन्तिम उपायको खोजीमा लागेका हुन् ।
शनिबार बिहान बोलाइएको केन्द्रीय समितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय उपस्थित नभएपछि सभापति देउवा थप दबाबमा परेका छन्। बैठकमा आफ्ना कुरा राख्न नपाएपछि उनले विशेष महाधिवेशन रोक्नका लागि नेता शेखर कोइरालासँग वार्ता गरेका छन् । यद्यपि, कोइराला स्वयम् विशेष महाधिवेशनको पक्षमा नभए पनि उनले महामन्त्रीद्वय थापा र शर्मालाई सम्झाउन नसक्दा देउवाको चिन्ता चुलिएको छ ।
पार्टीभित्रको यो गतिरोध सुल्झाउन देउवा ‘राजनीतिक देउडा’को शैलीमा विभिन्न शक्ति केन्द्रहरू धाउन थालेका छन् । यसै सिलसिलामा शनिबार उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेट गरेका छन् । पार्टीको आन्तरिक विभाजन गहिरिँदै गएकाले यसलाई रोक्ने उपायका लागि देउवाले राष्ट्रपतिसँग सुझाव मागेको स्रोतले जनाएको छ ।
नियमित महाधिवेशनलाई चुनावपछाडि सार्न देउवालाई उकास्ने ‘७ भाइ’ नेताहरू (पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला र प्रकाशशरण महत) को रणनीति अहिले सभापतिका लागि प्रत्युत्पादक बनेको विश्लेषण गरिएको छ । स्रोतका अनुसार सुरुमा देउवालाई कडा अडान लिन उकास्ने यी नेताहरू अहिले समस्या जटिल बनेपछि मौन बस्न थालेका छन् ।
विशेष महाधिवेशन पक्षधर समूहले भने अब कुनै पनि हालतमा पछि नहट्ने संकेत दिएको छ । उनीहरू आगामी चुनावमा एक्लै जाने निधोसहित भोलिको सम्मेलनको तयारीमा जुटेका छन् । अर्कोतर्फ, देउवा भने नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन गरेर अघि बढ्ने तयारीमा रहेको चर्चाले कांग्रेसभित्रको दूरी झनै बढाएको छ ।