काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले मुलुकको बिग्रँदो आर्थिक अवस्थालाई ध्यानमा राख्दै आफ्ना निर्धारित तथा प्रस्तावित सबै वैदेशिक भ्रमणहरू रद्द गर्ने घोषणा गरेका छन् ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण विवादमा तानिएका बेला शिक्षामन्त्री पुनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले देशको आर्थिक अवस्था नाजुक रहेका बेला विदेश सयर गरेर राज्यको स्रोत र समय खर्च गर्नुको कुनै औचित्य नरहेको स्पष्ट पारेका छन् ।
मन्त्री पुनले आफू कार्यभार सम्हालेपछि यसअघि नै तय भएका तीनवटा वैदेशिक भ्रमणमा सहभागी नभएको र हालै आएका थप दुईवटा निमन्त्रणा पनि अस्वीकार गरेको जानकारी दिए । “म मन्त्री भएपछि पहिले नै तय भएका तीनवटा भ्रमणमा गइनँ । अहिले फेरि दुईवटा नयाँ निमन्त्रणा आएका छन्, त्यसमा पनि सहभागी नहुने निर्णय गरेको छु,” उनले भनेका छन् ।
विदेश भ्रमणको औचित्यमाथि प्रश्न उठाउँदै मन्त्री पुनले अर्थतन्त्र सुधार नभएसम्म मुलुकमा कुनै पनि प्रगति नहुने तर्क गरे । उनले भनेका छन्, “देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन, किनभने केही गर्न पैसा चाहिन्छ। के विदेश घुमेर अर्थतन्त्र बन्छ ?”
पछिल्लो समय मन्त्रीहरूको वैदेशिक भ्रमण र त्यसले राज्यलाई पार्ने भारका विषयमा चौतर्फी आलोचना भइरहेका बेला शिक्षामन्त्रीको यो कदमलाई सकारात्मक रूपमा हेरिएको छ ।