काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य तयारी हुँदैछ । विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौंका विभिन्न ६ स्थानबाट जुलुस प्रदर्शनी हुने भएको छ ।
विशेष महाधिवेशन स्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पुस २७ गते मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन समारोहमा जान जुलुस प्रदर्शन हुने भएको छ ।
पत्रकार सम्मेलनअनुसार काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखर र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ । सबै रुटबाट बिहान ११ बजे जुलुस निस्कने छ ।
सुन्धाराबाट सुरु हुने जुलुसमा चितवन, अर्घाखाँची, नवलपुर तथा सुदूरपश्चिमका जिल्लाहरू, अन्य सबै जिल्लाका नेता कार्यकर्ता सहभागी हुने भएका छन् । यस्तै, काठमाडौं निर्वाचन क्षेत्र ८, ९ र १० अन्तर्गत पर्ने सबै नगर वडा समितिहरू यो रुट हुँदै महाधिवेशन स्थान पुग्ने छन् ।
रत्नपार्कमा भेला हुनेमा नुवाकोट, रसुवा र धादिङका नेता कार्यकर्ताहरू सहभागी हुने छन् । यो रुटअन्तर्गत रत्नपार्कबाट पुरानो बसपार्क हुँदै महाधिवेशन स्थल पुग्नुपर्ने छ ।
यस्तै, पद्मकन्या क्याम्पसबाट हुने जुलुसमा बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साबाट आएका नेता कार्यकर्तासहित काठमाडौंका ५, ६ र ७ का सबै नगर वडा समितिहरूका नेता कार्यकर्ता सहभागी हुने छन् ।
यो रुटको जुलुस पद्मकन्या क्याम्पसबाट पुतलीसडक, शंकरदेव क्याम्पस, पद्मोदयमोड हुँदै भृकुटीमण्डप प्रवेश गर्ने छ।
शंकरदेव क्याम्पसबाट निस्कने जुलुसमा भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपालचोक, सिन्धुली तथा काठमाडौंका २ र ३ नम्बर निर्वाचन क्षेत्रअन्तर्गतका सबै नगर वडा समितिहरूका नेता कार्यकर्ता सहभागी हुन पाउने भएका छन् ।
यसैगरी, कमलपोखरीबाट निस्कने जुलुसमा काठमाडौंका निर्वाचन क्षेत्र १ र ४ का सबै नगर वडा समितिहरूका नेता कार्यकता सहभागी हुने छन् । कमलपोखरी हुँदै चारखाल अड्डा डिल्लीबजार, पुतलीसडक, शंकरदेव क्याम्पस हुँदै महाधिवेशन स्थल पुग्ने छन् ।
कुपण्डोलबाट निस्कने जुलुसमा ललितपुर, मकवानपुरका प्रतिनिधि तथा नेता कार्यकर्ता यो रुटमा सहभागी हुन सक्ने छन्।