काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा नयाँ धु्रवीकरण देखिएको छ। विशेष महाधिवेशन आयोजकको आह्वानमा सहभागी हुने निर्णय गरेसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीभित्र ‘इतर’ समूहको नयाँ नेताका रूपमा स्थापित भएका छन् ।
संस्थापन पक्षले विशेष महाधिवेशन रोक्न कडा रणनीति अपनाएको र सोही लयमा नेता डा. शेखर कोइराला पनि उभिएपछि गगन-विश्वको जोडीले फरक धारको नेतृत्व सम्हालेको राजनीतिक वृत्तमा विश्लेषण सुरु भएको छ ।
तत्कालीन प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीका अनुसार यो घटनाक्रमले कांग्रेसको आन्तरिक राजनीतिमा पुस्तान्तरणको संकेत गरेको छ । “शेखर कोइरालाले नेतृत्वदायी भूमिका प्रभावकारी बनाउन सक्नुभएन । अब इतर समूहको नेतृत्व स्वभाविक रूपमा महामन्त्रीद्वयको हातमा पुगेको छ,” सुवेदी भन्छन्, “विशेष महाधिवेशनको प्रक्रियाले गगन र विश्वलाई नयाँ शक्तिको रूपमा उदाउने अवसर दिएको छ ।”

यसैबीच, विशेष महाधिवेशनको आह्वानसँगै चुलिएको विवाद सुल्झाउन नेता डा. शेखर कोइराला सक्रिय भएका छन् । उनले बिहीबार महाराजगन्ज पुगेर सभापति देउवासँग भेटवार्ता गरेका छन् । भेटमा कोइरालाले पार्टीभित्रको बढ्दो खटपट अन्त्य गर्न र समस्या समाधानमा ठोस पहल लिन सभापतिलाई आग्रह गरेका छन् ।
महामन्त्रीद्वयको यो कदमले कांग्रेसभित्र संस्थापन (देउवा), मध्यमार्गी (कोइराला) र नयाँ इतर (थापा-शर्मा) गरी त्रिकोणात्मक शक्तिको अभ्यास सुरु भएको देखिएको छ ।