काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचनको बन्दसूचीमा रहेका युवा उद्यमी सचिन ढकालले आफ्नो नाम फिर्ता लिएका छन् । एफसी चितवनका अध्यक्षसमेत रहेका ढकालले व्यक्तिगत कारण र उद्यमशीलतामा थप समय खर्चिने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।
पार्टी नेतृत्वप्रति आभार व्यक्त गर्दै ढकालले आफ्नो शिक्षा र ज्ञानलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगाउने अठोट व्यक्त गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन विदेशमा अध्ययन पूरा गरी त्यहाँका अवसरहरू त्यागेर स्वदेश फर्किएका युवा हुन् ।
‘आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ भन्ने मेरा पिताजीको प्रेरणाबाट म उद्यमशीलतामा लागेको हुँ,’ उनले भनेका छन्, ‘वार्षिक ५ लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई चिर्न स्वदेशमै अवसरहरू सिर्जना गर्नु अहिलेको आवश्यकता हो ।’
पारिवारिक व्यावसायिक पृष्ठभूमि भए पनि आफू परम्परागत व्यवसायको निरन्तरतामा मात्र सीमित नहुने उनको जिकिर छ । “कुनै व्यावसायिक घरानाको सन्तान हुनु र देश विकासमा योगदान गर्छु भन्नु आफैँमा नराम्रो होइन,” उनले स्पष्ट पारेका छन्, “मैले पारिवारिक विरासत मात्र होइन, आफैँले हासिल गरेको शिक्षालाई व्यवहारमा उतार्दै चुनौतीपूर्ण र नवीन काममा आफूलाई खार्ने प्रयत्न गरिरहेको छु।”
राजनीतिक सक्रियतालाई थाती राखे पनि सुशासन र समुन्नत नेपाल निर्माणको अभियानमा आफ्नो समर्थन सदैव रहने ढकालले बताएका छन्। आगामी दिनमा राष्ट्र र समाजको हितका लागि आवश्यक परेमा राजनीतिक जिम्मेवारी वहन गर्न सधैँ तत्पर रहने प्रतिबद्धता उनले व्यक्त गरे। ढकाल हाल नेपाली खेलकुद (एफसी चितवनमार्फत) र हस्पिटालिटी क्षेत्रको विकासमा सक्रिय छन्।
यस्तो छ उनको विज्ञप्तिः
विदेशमा अध्ययनपश्चात उतै कैयौँ अबसरहरु प्राप्त भए पनि स्देशमै उद्यम गरी देशको समृद्धिमा सकेजति इट्टा थप्छु भन्ने अठोटका साथ म स्वदेश फर्किएको हुँ । आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी समृद्ध नेपाल निर्माणमा इमान्दार रुपले लाग्नुपर्छ भन्ने मेरा पिताजी श्री चन्द्रप्रसाद ढकालको प्रेरणाबाट नै म उद्यमशीलताको विकासमा लागिपरिरहेको छु ।
नेपाली अर्थतन्त्र, खेलकुद, पर्यटन तथा युवा रोजगारी सिर्जनाका क्षेत्रमा म हाल सक्रिय रहँदै आएको पनि छु । स्वदेशमा युवा उद्यमशीलता र रोजगारीका पर्याप्त अवसर प्राप्त नहुँदा हाल वार्षिक ५ लाखभन्दा बढी नेपाली युवा रोजगारीका लागि विदेशिने गरेको नमिठो तथ्यांक हामीसँग छ । तर, विदेशमा अध्ययन सकेर उतै उपलब्ध हुने आकर्षक अवसरलाई त्याग्दै स्वदेशमै केही गर्ने योजना, सोच र आँट लिएर कैयौँ युवा आफ्नै मातृभूमि फर्किएर आउने गरेका पनि छन् । स्वदेशमै सम्भावनाका ढोकाहरु ढक्ढक्याउन आउने यिनै कैयौँ युवाका प्रयासहरुमा साथ र सहयोग दिने मेरो अठोट छ । सुशासनसहितको समुन्नत नेपाल निर्माणका लागि नवीन सोच, ऊर्जा र प्रतिबद्धतासहित नवयुवाहरूको सामूहिक प्रयासप्रति मेरो सदा साथ र सहयोग रहनेछ ।
उद्यमशीलताको प्रवर्धन मार्फत् सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरु अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीका नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको जानकारी गराउँछु ।
युवाहरुको सामूहिक नेतृत्वमा सुशासनसहितको समुन्नत नेपाल निर्माण गर्ने अभियानप्रति म निरन्तर प्रतिबद्ध रहनेछु । साथै, आगामी दिनहरूमा राष्ट्र र समाजको हितमा राजनीतिक जिम्मेवारी वहन गर्न आवश्यक परेमा सधैँ तत्पर रहेको प्रतिबद्धता पनि यसै जानकारी मार्फत् व्यक्त गर्दछु ।
अन्त्यमा, मलाई लाग्छ कुनै व्यावसायिक घरानाको सन्तान हुनु, उसले उद्यमशीलतामार्फत नयाँ सोच अघि सार्नु र देशको विकासमा केही योगदान गर्छु भनेर लागिपर्नु नराम्रो होइन । मेरा पिताजीको जस्तै स्वदेशमै उद्यमशीलता विकास गरेर, उद्यम व्यवसाय सञ्चालन गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्छ भन्ने नै मेरो सोच हो । मैले मेरो पारिवारिक पृष्ठभूमिबाट प्राप्त हुने अवसर लिएर नभई आफैले हासिल गरेको शिक्षा र ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्दै उद्यमशीलताको विकास गर्ने प्रयत्नमा छु । त्यसैले मैले कुनै पनि व्यवसायको परम्परागत निरन्तरता भन्दा पनि नविनता, नवउद्यम र चुनौतीपूर्ण काममा नै आफूलाई यसरी खार्ने प्रयत्न गरिरहेको छु, जुन नेपालका सबै युवाका लागि उदाहरणीय बन्न सकोस् ।
धन्यवाद
सचिन ढकाल
अध्यक्ष, एफसी चितवन