काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका कलाकार आसिफ शाहले नाम फिर्ता लिएका छन् ।
उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत देश निर्माणका लागि आवश्यक योगदान जुनसुकै पद वा हैसियतमा रहेर पनि दिन सकिने भन्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
उनले लेखेका छन्, ‘देश निर्माणका लागि आवश्यक योगदान, म जुनसुकै पद वा हैसियतमा रहे पनि, सधैँ गर्न तयार छु । तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ । यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु ।’
कलाकार शाहले समानुपातिकबाट नाम फिर्ताको घोषणा गरेसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने पनि बताएका छन् । उनले भनेका छन्-प्रत्यक्ष निर्वाचनमा उठ्नुपर्छ, उठ्ने नै हो । हामी काठमाडौँ-५ बाट प्रत्यक्ष उम्मेदवारी दिन पूर्ण रूपमा तयार छौँ। देशभन्दा ठूलो केही हुँदैन ।’
उनले जनता र पार्टीका साथीहरूको भावना अनुरूप, समानुपातिक सूचीमा रहेका अन्यलाई पनि आ-आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न आग्रह गरेका छन् ।