काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई नयाँ गति दिन र आन्तरिक एकता बलियो बनाउन पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । बुधबार ‘राष्ट्रिय एकता र मेलमिलाप दिवस’ को अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो आह्वान गरेका हुन् ।
थापाका अनुसार अहिलेको अवस्थामा कांग्रेसलाई आत्मविश्वास र एकता चाहिएको छ, जुन निषेधबाट नभई ‘विशेष अधिवेशन’ जस्तो साझा मञ्चबाट मात्र सम्भव छ । उनले पुस मसान्तभित्र विशेष अधिवेशन गर्नु विधानतः बाध्यकारी मात्र नभएर पार्टीको भविष्यका लागि अनिवार्य भइसकेको दाबी गरेका छन् ।
हातेमालो गर्न आह्वान:
महामन्त्री थापाले सम्पूर्ण पार्टीका साथीहरूलाई यो मार्गमा दृढतापूर्वक साथ दिन र एकताबद्ध हुन आग्रह गरेका छन्। “अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु।” उनले भनेका छन् ।
आजभन्दा ४९ वर्षअघि बीपी कोइराला र गणेशमान सिंह राष्ट्रिय एकता र मेलमिलापको नारासहित स्वदेश फर्किएको दिनलाई स्मरण गर्दै थापाले अहिलेको राजनीतिमा पनि विरोध र निषेध होइन, सामूहिक उत्तरदायित्वको आवश्यकता रहेको बताएका छन् ।