संसद् पुनर्स्थापना अहिले हुँदैन : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिनिधि सभा पुनर्स्थापना नहुने बताएका छन्।

नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अब नेपाली कांग्रेस र नेकपा (एमाले) पनि चुनावतिरै जाने जिकिर गरे । कांग्रेस र एमालेले सर्वोच्च अदालतमा संसद् पुनर्स्थापनका लागि रिट हालेको भए पनि अब चुनावतिरै लाग्ने बताउँदै उनले भने, ‘निर्वाचनमा एक ढिक्का भएर लाग्नुपर्ने छ। मलाई विश्वास छ, आज भोलिदेखि नै नेपाली कांग्रेस र एमाले पनि सम्पूर्ण रूपले निर्वाचनमा केन्द्रित हुनेछन् ।’

अब चुनावको विकल्प नभएको उनको भनाइ थियो । कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘न्यायालयमा पनि जानुभएको छ । तर म तपाईं सबै र जनतालाई नै भन्न चाहन्छु-कुनै भ्रममा पर्न आवश्यक छैन । संसद् पुनर्स्थापना अहिले हुँदैन । निर्वाचन अब अगाडि आई नै सक्यो।’

निर्वाचनमा नगए देश थप दुर्घटनातिर जाने उनको भनाइ थियो । ‘निर्वाचन नभए थप अन्योल हुन्छ । थप दुर्घटना निम्त्याउने जोखिम हुन्छ । अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुने र आम जनतालाई त्यता पट्टि आकर्षित गर्न जरुरी छ’, उनले भने ।

उनले नेता तथा कार्यकर्तालाई एकजुट भएर निर्वाचनमा लाग्न पनि निर्देशन दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै