कांग्रेसमा विशेष महाधिवेशन अब बाध्यता: महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा विशेष महाधिवेशन अब ‘बाध्यता’ बनेको बताएका छन् । विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूको ध्यानाकर्षण पत्र बुझ्दै उनीहरूले अब यसलाई टार्न नसकिने दाबी गरे ।

शुक्रबार ज्ञापनपत्र बुझ्ने क्रममा महामन्त्री थापाले विशेष महाधिवेशन ऐच्छिक विषय नभई विधानको अनिवार्य व्यवस्था भएको जिकिर गरे । “मंसिरभित्र नियमित महाधिवेशन भएको भए विशेष महाधिवेशनको प्रस्ताव स्वतः निस्क्रिय हुने थियो,” थापाले भने, “मंसिर कटेर पुस मसान्त पुग्दासम्म पनि महाधिवेशनको सुनिश्चितता हुन सकेन । अब विधानअनुसार अघि बढ्नु हाम्रो जिम्मेवारी हो ।”

थापाले पार्टी विधानभन्दा माथि कोही पनि नभएको स्पष्ट पार्दै नियमित महाधिवेशन हुन नसकेको अवस्थामा विशेष महाधिवेशन नै एकमात्र विकल्प रहेको बताए । “पुस मसान्तसम्म नियमित महाधिवेशन नभएपछि विशेष महाधिवेशन अनिवार्य भयो,” उनले थपे, “हामी यसलाई गम्भीरतापूर्वक सम्बोधन गर्छौं ।”

कार्यक्रममा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि थापाको भनाइमा समर्थन जनाउँदै विशेष महाधिवेशनको प्रक्रिया अब अपरिहार्य भएको उल्लेख गरे । पार्टीभित्रको आन्तरिक गतिरोध अन्त्य गर्न र लोकतान्त्रिक अभ्यासलाई जीवित राख्न विशेष महाधिवेशन नै निकास भएको उनीहरूको साझा निष्कर्ष थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै