काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अवस्था बंगलादेशको जस्तो हुन दिन नहुने बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित ‘बाह्रखरी कथा प्रतियोगिता’का विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले वर्तमान सरकार ‘अचानो’ जस्तो बनेको टिप्पणी गर्दै चौतर्फी दबाब र आलोचना खेपिरहनु परेको दुखेसो पोखिन्। राजनीतिक दलदेखि युवा पुस्ता (जेनजी) सम्मले सरकारको निरन्तर आलोचना गरिरहेको उनले बताइन् ।
“हामी त अचानो जस्तो पो रहेछौँ,” प्रधानमन्त्रीले आफ्नो दिग्दारी व्यक्त गर्दै भनिन्, “राजनीतिक दलले पनि गाली गर्छन्, जेनजी समूहले पनि आजै छोड, भोलि छोड भनिरहन्छन्। तर, जिम्मेवारी छोडेर हिँड्दा फेरि ‘औकात नभएर भागेको’ भन्ने भाष्य निर्माण हुने डर छ।”
प्रधानमन्त्री कार्कीले युवाहरूमा निर्वाचनप्रति बढ्दो वितृष्णा र विभिन्न समूहका फरक-फरक मागले गर्दा सरकार ‘पेण्डुलम’ जस्तो भएको बताइन्। उनले भनिन्, “२५–३० वटा जेनजी समूहहरू छन्, सबैका माग फरक छन्। कतै जाँदा पनि सुख हुने अवस्था छैन। तैपनि हामी बहुत धैर्य धारण गरेर काम गरिरहेका छौँ।”
आफ्नो मुख्य लक्ष्य मुलुकलाई अस्थिरताबाट जोगाउनु रहेको उल्लेख गर्दै उनले थपिन्, “हाम्रो एउटै चाहना छ— मुलुक बंगलादेश नहोस्। हामी त्यही खराब स्थिति आउन नदिने सुरमा छौँ।” उनले साहित्यकारहरूलाई सरकार र वर्तमान समयको जटिलताका बारेमा पनि कथा लेख्न आग्रह गरिन्।