काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि पार्टी नेतृत्व परिवर्तन नभए आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीमा परिवर्तन नआए चुनाव लड्नुको औचित्य नहुने तर्क गरेका हुन्। उनले नेतृत्व परिवर्तनलाई निर्वाचनमा जाने अनिवार्य शर्तका रूपमा अघि सारेका छन्।
“चुनावअघि पार्टीको नेतृत्व परिवर्तन हुनैपर्छ। नेतृत्व फेरिएन भने यही अवस्थामा चुनावमा जान सम्भव छैन,” थापाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने, “नेतृत्व परिवर्तन नगरी चुनावमा जाने हो भने को-को उम्मेदवार बन्ने हो बन्नुस्, म चाहिँ लड्दिनँ।”
थापाको यो घोषणाले कांग्रेसभित्र ठूलो तरङ्ग पैदा गरेको छ। यसअघि नै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन्। दुवै प्रभावशाली महामन्त्रीले निर्वाचनमा भाग नलिने मनसाय राखेपछि पार्टीको भावी चुनावी रणनीति र नेतृत्वको समीकरणमा गम्भीर प्रश्न उठेको छ।
बैठकमा थापाले नेतृत्व फेरिए मात्रै पार्टीमा नयाँ उत्साह आउने र जनताको विश्वास जित्न सकिने अडान राखेका छन्।