काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) बीच बिहीबार भेटवार्ता भएको छ । ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेन्जनकारको निवासमा दुई नेताबीच छलफल भएको हो ।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेता शर्माले राजनीतिक निकास र संसद्को प्रभावकारिताका विषयमा कुराकानी भएको जानकारी दिए । शर्माले भने, “संसद् र वर्तमान राजनीतिक अन्योलका विषयमा के गर्दा उचित हुन्छ भन्नेबारे हामीले छलफल गरेका हौँ ।”
छलफलका क्रममा नेता शर्माले आफू नेपाली कांग्रेसमै रहने र भविष्यमा पार्टीको नेतृत्व तहमा पुग्ने आकांक्षा रहेको समेत व्यक्त गरे । “म कांग्रेसको सिपाही हुँ, पार्टी छोड्ने प्रश्नै आउँदैन, भोलिको नेतृत्वका लागि म तयार छु,” उनले भने ।
यसअघि नेता शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बचाउ गर्दै आएका थिए । उनले सहकारी प्रकरणमा लामिछानेमाथि लागेको आरोपका सन्दर्भमा विवादास्पद अभिव्यक्ति समेत दिँदै आएका थिए ।
आजको बैठकमा बालेन र शर्माबीच पछिल्लो राजनीतिक समीकरण र चुनावी सहकार्यका सम्भावनाबारे पनि प्रारम्भिक चर्चा भएको स्रोतको दाबी छ ।