काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेता पूर्वमन्त्री पम्फा भुसाल आगामी फागुन २१ गते हुने निर्वाचनमा नलड्ने घोषणा गरेकी छन् । युवा र नयाँ उम्मेदवारलाई प्राथमिकता दिन अब चुनाव नलड्ने निष्कर्षमा पुगेको भुसालले बताएकी हुन् ।
भुसाल २०६४ सालको पहिलो संविधान सभा, २०७४ सालको निर्वाचनमा ललितपुर ३ बाट निर्वाचित भएकी थिइन । तर, २०७९ सालको निर्वाचनमा उर्जा, जलस्रोत तथा सिचाई मन्त्री भएका बेला ललितपुर ३ बाटै राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता तोसिमा कार्कीसँग पराजित भएकी थिइन ।
भुसाल तीन पटक मन्त्री र दुई पटक सांसद भई सकेपछि अब चुनाव नलड्ने गोरखापत्र दैनिकको निर्वाचन विशेष अन्तर्वार्ता मार्फत घोषणा गरेकी हुन् । ‘मैले २०७९ सालको निर्वाचनमै मेरो अन्तिम निर्वाचन हो । अब चुनाव लड्दिन भनेर घोषणा गरेकी थिए’ भुसालले भनिन्, ‘जेनजी आन्दोलनपछि युवलाई प्राथमिकता दिनुपर्छ भनेर होइन पहिलै चुनाव लड्दिन भनेको थिए । साथीहरुलाई चुनावको तयारी थाल्नुस् भनेको थिए ।’ आफू एउटै व्यक्ति सांसद र मन्त्री हुनुहुँदैन भन्ने पक्षामा रहेको भुसालले बताइन । उनले आगामी निर्वाचनमा आफ्ना पार्टीका युवा र नयाँ उमेदवारलाई निर्वाचित गराउन डढेर लाग्ने प्रतिवद्धतता जनाएकी छन् ।
भुसाल तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएकी शीर्ष नेता थिइन । तत्कालीन संयुक्त जनमोर्चाबाट पहिलो पार्टी अध्यक्ष समेत भएकी थिइन । यसअघि माओवादी केन्द्रको उपाध्यक्ष पदमा थिइन । अब पार्टीले अघि सारे राष्ट्रिय सभा वा समानुपातिक सांसदमा जान सकिने बताएकी छन् ।
यसअघि माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी राजनीतिबाट विदा लिएका थिए । पूर्व मन्त्री साहले निर्वाचनसँगै राजनीतिबाट विदा लिएको घोषणा गरेका थिए । उनले आगामी दिन विज्ञानका क्षेत्रमा खोज अनुसन्धानमा लाग्ने भन्दै सचिव पदबाट राजीनामा दिएका थिए ।