काठमाडौँ । अभिनेता तथा निर्मात्री एलिजा गौतम डेढ महिनामै जनादेश पार्टी परित्याग गरी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छिन् ।
बुधबार आजपाको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै गौतम पार्टी प्रवेश गरेकी हुन् । स्रोतका अनुसार पार्टीले उनलाई उपाध्यक्षको जिम्मेवारी सुम्पिएको छ । बैठकमा उनलाई माला र खादा लगाएर स्वागत गरिएको थियो ।
यसअघि गत कात्तिकमा रमणकुमार कर्णको नेतृत्वमा गठन भएको जनादेश पार्टीमा उनी उपाध्यक्ष बन्ने चर्चा थियो । तर, उक्त पार्टीमा उनी केन्द्रीय सदस्यको रूपमा मात्र सीमित थिइन् । पार्टी नेतृत्वसँगको असन्तुष्टिका कारण उनले छोटो समयमै पार्टी परिवर्तन गरेको बताइएको छ ।
रमणकुमार कर्णको नेतृत्वमा गठन भएको जनादेश पार्टीमा एलिजा उपाध्यक्ष बनेको चर्चा थियो । तर, त्यसले औपचारिकता पाएको थिएन । स्रोतका अनुसार बारम्बार ‘जिब्रो चिप्लिएका’ कारण उनलाई उपाध्यक्ष नबनाउने निस्कर्षमा पार्टी नेतृत्व पुगेपछि उनी असन्तुष्ट बनेकी थिइन् । सो पार्टीमा अहिले सभापतिबाहेक अन्य कोही पनि पदाधिकारी छैनन् ।
रोचक कुरा के छ भने, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आजपा र जनादेश पार्टीले ‘मोबाइल’ चुनाव चिह्न प्रयोग गर्ने गरी चुनावी सहकार्यको सहमति गरेका थिए । उक्त सहमति भएलगत्तै गौतम भने जनादेश पार्टी छोडेर आजपामा नै समाहित भएकी हुन् । चुनावी सहकार्यको सहमतिसँगै एलिजा भने फड्को हानेर आजपामा भित्रिन पुगिन्। आज आजपाको केन्द्रीय कमिटी वैठकमा उनलाई टिका, माला र खादा लगाएर स्वागत गरियो ।