काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको उनीहरू निकट नेताहरूले बताएका छन् ।
गएराति काठमाडौँमा रहेको असिम साहको म्युजिक कम्पनी जी–२१ को कार्यालयमा रवि र बालेनबीच भेटवार्ता भएको हो । भेटपछि दुवै नेता एउटै गाडीमा सँगै बाहिरिएको दृश्य देखिएको थियो । भेटमा सहभागी असिम साहका अनुसार छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।
भेटवार्तामा भएका ठोस विषय सार्वजनिक नगरिए पनि मिलेर अघि बढ्नुपर्ने आवश्यकता र राजनीतिक सहकार्यका विषयमा सकारात्मक संवाद भएको नेताहरूको भनाइ छ । यस भेटलाई पछिल्लो समय देखिएको राजनीतिक दूरी घटाउने प्रयासका रूपमा पनि हेरिएको छ ।
भेटको समन्वय गरेका रास्वपा नेता असिम साहले सञ्चारकर्मीहरूसँग भने, “रवि र बालेन मिलेर अघि बढ्नुपर्छ भन्ने देशको अपेक्षा हो। त्यसको सुखद सुरुवात भएको छ ।” उनले सामाजिक सञ्जालमा पनि यसलाई ‘देशले खोजेको आशाको मिलन’ भन्दै स्वागत गरेका छन् ।
सहकारी रकम हिनामिनासम्बन्धी आरोपमा लामो समय कारागार बसेपछि धरौटीमा रिहा भएका रवि लामिछानेले पछिल्ला दिनमा राजनीतिक भेटघाट र पार्टीगत गतिविधि तीव्र बनाएका छन् ।