काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं अभियन्ता महावीर पुनले आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरूले भोट हाल्न पाउने सम्भावना न्यून रहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा सहभागी भएपछि पुनले यस्तो प्रतिक्रिया दिएका हुन्। छलफलबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै उनले सरकारी तयारी र राजनीतिक दलहरूको इच्छाशक्ति नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
अभियान चलाउन सुझाव पुनले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मताधिकार सुरक्षित गर्न आफैँ जुर्मुराउन सुझाव दिएका छन्। उनले भने, “विदेशमा बस्ने नेपालीहरूले चुनावमा भोट दिन पाउने छाँट छैन । अब तपाईंहरूले के–के अभियान चाल्नुपर्ने हो, आ–आफ्नो क्षेत्रबाट चाल्नुस्। यहाँको सरकार र नेताहरूको ढङ्ग देखिएन ।”
बैठकलाई ‘खरानीको डल्लो’ को संज्ञा छलफलमा कुनै ठोस प्रगति नभएकोमा आक्रोश व्यक्त गर्दै पुनले बैठकलाई ‘खरानीको डल्लो’ सँग तुलना गरे। उनले अगाडि थपे, “आजको सल्लाह खरानीको डल्लो जस्तो भयो। कुनै ठोस निष्कर्ष निस्कन सकेन ।”
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न आदेश दिए पनि व्यावहारिक र कानुनी जटिलता देखाउँदै सरकारले यसलाई कार्यान्वयनमा ल्याउन ढिलाइ गरिरहेको सन्दर्भमा पुनको यस्तो टिप्पणी आएको हो ।