भदौ २३ को घटना अकल्पनीय र दुःखद्, प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको नैतिक जिम्मेवारी तत्कालीन सरकार र प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो दिनलाई नेपालको इतिहासकै ‘कालो दिन’ को रूपमा चित्रण गरे ।

भ्रष्टाचार र कुशासनविरुद्ध ‘जेनजी’ हरूले गरेको आन्दोलनका क्रममा भएको सो घटना अकल्पनीय रहेको उनको भनाइ छ । ‘सडकमा आक्रोश व्यक्त हुनु स्वाभाविक थियो, तर हामीले हाम्रा थुप्रै नौजवानहरू गुमाउनु पर्‍यो,’ थापाले भने, ‘सार्वजनिक ओहोदामा बसेका व्यक्तिका लागि राजनीतिक नैतिकता सबैभन्दा ठूलो कुरा हो । म त्यो पदमा भएको भए तत्काल जिम्मेवारी लिन्थेँ ।’

महामन्त्री थापाले घटनाको छानबिन भइरहे पनि उच्च पदमा बस्नेहरूले यसको दोषबाट उम्किन नमिल्ने जिकिर गरे । ‘म यसको जिम्मेवारी लिन्छु भन्दा कोही सानो हुँदैन,’ उनले थपे, ‘प्रधानमन्त्री र सरकारमा बस्ने साथीहरूले यसको नैतिक उत्तरदायित्व बोक्नैपर्छ ।’

उक्त घटना लगत्तै कांग्रेसकै दबाबमा तत्कालीन गृहमन्त्रीलाई राजीनामा दिन लगाइएको स्मरण गर्दै थापाले जवाफदेहिताको संस्कार बसाल्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै