रविपछि छवि पनि धरौटीमा रिहा, लामिछाने दम्पती बालुवाटारमा

काठमाडौँ । सहकारी बचत रकम अपचलन मुद्दामा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका पूर्व-उपाध्यक्ष छविलाल जोशी बन्जाडे धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत बुटवलको आदेशपछि रुपन्देही जिल्ला अदालतले मागेको धरौटी बुझाएर पूर्व डीआईजीसमेत रहेका जोशी आइतबार राति रिहा भएका हुन् । उनलाई बुद्ध एयरको उडानबाट काठमाडौँ ल्याइएको छ ।

यसैबीच, सोही मुद्दामा धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई भेटेका छन् । आइतबार साँझ पत्नी निकिता पौडेलसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका लामिछाने र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा गृहमन्त्री, सञ्चारमन्त्री र रास्वपाका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति थियो । सुरुमा लामिछाने दम्पतीले मात्र भेटेको भए पनि पछि रास्वपा उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी  भएका थिए ।

पक्राउ परेको ९ महिनापछि थुनामुक्त हुनुभएका लामिछानेले हिजो मात्र चितवन पुगेर आफ्ना समर्थकहरूलाई सम्बोधन गर्नुभएको थियो । सर्वोच्च अदालतले यसअघि पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेको भए पनि पछिल्लो पटक उच्च अदालतको आदेशमा उनीहरू धरौटीमा छुटेका हुन् ।

सरकार पक्ष (सरकारी वकिल) पुनः सर्वोच्च अदालतमा पुनरावेदनका लागि जाने सम्भावना कायमै रहेका बेला भएको यो भेटघाटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै