एमाले मतगणना अपडेट: केपी ओली र शंकर पोखरेलको अग्रता कायमै, अधिकांश पदमा ओली प्यानल हाबी

काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । बिहीबार बिहान मतदान सम्पन्न भएसँगै सुरु भएको गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र महासचिवका उम्मेदवार शंकर पोखरेलले सुरुवाती चरणदेखि नै अग्रता कायम राखेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार, विद्युतीय मेसिनबाट गरिएको मतदानको नतिजा गणना सुरु भएको केही घण्टाभित्रै सार्वजनिक गर्ने तयारी छ । पछिल्लो प्राप्त मतपरिणाम अनुसार, अध्यक्षमा ओलीले ८४३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन् ।

त्यस्तै, सर्वाधिक चासोका साथ हेरिएको महासचिव पदमा शंकर पोखरेलले ६१३ मतका साथ अग्रता लिइरहेका छन् भने उनलाई सुरेन्द्र पाण्डेले ५२६ मतका साथ पछ्याइरहेका छन् ।

उपाध्यक्ष र सचिवमा पनि ओली प्यानलकै वर्चस्व उपाध्यक्ष पदमा पनि ओली प्यानलकै उम्मेदवारहरू अगाडि देखिएका छन्। पछिल्लो तथ्यांक अनुसार पृथ्वीसुब्बा गुरुङ पहिलो स्थानमा छन् भने विष्णुप्रसाद पौडेल र रामबहादुर थापा ‘बादल’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

उपमहासचिवतर्फ लेखराज भट्ट र रघुवीर महासेठको अग्रता देखिएको छ। सोही पदमा ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका योगेश भट्टराई तेस्रो स्थानमा छन् ।

सचिव पदमा पनि ओली प्यानलका उम्मेदवारहरू महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा अर्याल र शेरधन राईले सुरुवाती अग्रता लिएका छन्। निर्वाचन आयोगले केही समयभित्रै आधिकारिक रूपमा पूर्ण परिणाम सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै