काठमाडौँ । विद्युतीय मेसिन प्रयोग गरेकाले ओली र पोखरेलले मतदान गर्न ४० मिनेट लगाएका छन् । एमालेका देशैभरबाट दुई हजार २६३ प्रतिनिधिले मतदान गर्न बेलुकासम्म समय लाग्न सक्ने नेता भिष्म अधिकारीले बताए ।
‘एमाले नेतृत्व चयनका लागि मतदान भर्खरै सुरु भएको छ । मतदान गर्न प्रतिनिधिहरुको भिड लागेको छ । विद्युतीय मेसिन भएकाले एउटैलाई ४०-४५ मिनेटसम्म समय लागेको छ’ उनले भने, ‘मतदान गर्न समय तोकिएको छैन । मतदानको अवस्था हेर्दा बेलुकासम्म समय लाग्ने देखिन्छ ।’
मतदान सकिएपछि परिणाम भने तत्काल आउने अधिकारीले बताए । आज बेलुकासम्म मत परिणाम आएर घोषणा भई सपथ समेत हुने उनको भनाई छ ।
ओली र पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा होमिएका छन् । केन्द्रीय निर्वाचन आयोगको विवरणअनुसार ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे मैदानमा छन् । यस्तै ३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जनाको उम्मेदवारीदर्ता भएको छ।
एमालेमा ३ सय १ केन्द्रीय सदस्यीय लागि ६ सय ६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । महाधिवेशनमा दुई हजार २ सय ६३ मतदाता सहभागी छन् । केही सदस्य भने निर्विरोध भइसकेका छन् ।
एमाले नेतृत्व चयनका लागि मतदान सुरु, ओली-पोखरेलबीच कडा प्रतिस्पर्धा