ओली पक्ष ‘क्लिन स्वीप’ भएपछि पोखरेल पक्षलाई दबाब, पुनः प्रतिनिधि छनौट गर्न निर्देशन

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कार्यालयले ओखलढुंगा कमिटीलाई प्रतिनिधि निर्वाचन प्रक्रिया पाँच दिनभित्र पुनः सुरु गर्न निर्देशन दिएको छ ।

मंसिर १६ गते जारी भएको पत्रमार्फत केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले सदरमुकाममा सम्पन्न प्रतिनिधि छनौट प्रक्रिया अस्वीकार्य भएको बताएसँगै पुनः प्रतिनिधि निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो ।

११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका सम्बन्धमा अपानी-१३ को निर्देशन, आठमध्ये छ वटा पालिका कमिटीको माग, बहुसंख्यक इच्छुक उम्मेदवारको असहमति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशनसमेत उल्लंघन गरिएकाले प्रतिनिधि चयन मान्य नहुने उल्लेख गरिएको छ ।

पुनः हुने निर्वाचनलाई सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई आवश्यक समन्वय गरी सहयोग गर्न जिम्मेवारी तोकिएको एमालेले जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालयले दिएको निर्देशनबमोजिम अब पाँच दिनभित्र ओखलढुंगामा पुनः प्रतिनिधि छनोट प्रक्रिया सञ्चालनको तयारी भएको छ ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार भएको निर्वाचनमा १५१८ मत खसेको थियो। जसमा ईश्वर पोखरेलको समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहलाई पराजित गरेको थियो । १२ जना प्रतिनिधि पोखरेल पक्षकै थिए ।

जसमा खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका छन् । महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ, युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे प्रतिनिधि भएको घोषणा गरिएको थियो ।

जम्मा १२ पदमा ४१ जनाले उम्मेदवारी दिएका थिए । सहमति नजुटेपछि निर्वाचन समितिले मतदानमार्फत प्रतिनिधि चयन गरेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै