काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा हुने गरी मिति घोषणा भएको छ । सोमबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस अन्तिममा महाधिवेशन गर्ने गरी कार्यतालिका पारित गरेको हो ।
संस्थापनमाथि दबाब
सभापति शेरबहादुर देउवा आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्ने योजनामा थिए। यसमा नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाले उनलाई साथ दिएका थिए ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत बहुसङ्ख्यक महाधिवेशन प्रतिनिधिले देउवामाथि तत्काल महाधिवेशन गर्न तीब्र दबाब बढाएका थिए ।
इतर पक्षले ७० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षर केन्द्रीय कार्यालयमा बुझाउने र निर्वाचनअघि महाधिवेशन नगराए पार्टी विभाजन गर्नेसम्मको धम्की दिएर गुटको भेला गर्दै हिँडेको थियो ।
संस्थापन इतर पक्षको दबाब थेग्न नसकेपछि अन्ततः देउवा नेतृत्वको संस्थापन पक्ष महाधिवेशनको कार्यतालिका ल्याउन बाध्य भएको हो ।
महाधिवेशन हुनेमा आशंका कायमै
तोकिएको मितिमा महाधिवेशन सम्पन्न हुन्छ वा हुँदैन भन्नेमा संस्थापन इतर पक्ष ढुक्क हुन सकेको छैन। यसको मुख्य कारणहरूः
समय अभावः आगामी निर्वाचन हुन ९३ दिन मात्रै बाँकी रहेको र काँग्रेसजस्तो ठूलो संगठनमा क्रियाशील सदस्यता वितरणलगायतका प्रक्रियाहरू समयमै पूरा नहुने आशंका कायमै छ।
आन्तरिक विरोधM नेता निधि र सिटौला महाधिवेशनपछि धकेलेर देउवाको कार्यकाल लम्ब्याए आफूहरूलाई ‘सेट’ हुन सजिलो हुने झिनो आशामा रहेकाले उनीहरू भित्री रूपमा तोकिएको मितिमा महाधिवेशन नहोस् भन्ने चाहन्छन् ।
क्रियाशील सदस्यता विवादः काँग्रेसमा सधैँ विवादको विषय बन्ने क्रियाशील सदस्यता लाई महाधिवेशन नचाहने पक्षले विवादको रूपमा झिकेर प्रक्रिया पछाडि धकेल्न सक्ने देखिएको छ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन कार्यतालिका
केन्द्रीय कार्यसमितिले पारित गरेको महाधिवेशनको कार्यतालिका निम्न प्रकार छः-
| मिति | कार्यक्रम |
| मंसिर २० गतेभित्र | केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण |
| पुस ८ गतेभित्र | प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने |
| पुस १४ गते | क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई बुझाउने |
| पुस १५ गते | नेपाली जनसम्पर्क समितिको अधिवेशन |
| पुस १६ गते | गाउँ/नगर वडा अधिवेशन |
| पुस १७ गते | गाउँ/नगरपालिका अधिवेशन |
| पुस १९ गते | प्रदेश सभा क्षेत्रीय अधिवेशन |
| पुस २१ गते | प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन |
| पुस २२ गते | दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन |
| पुस २३ र २४ गते | प्रदेश अधिवेशन |
| पुस २६, २७ र २८ गते | केन्द्रीय महाधिवेशन (काठमाडौंमा) |
कार्यतालिका सार्वजनिक भएपछि दबाबमा परेका सभापति देउवाले महाधिवेशनपछि समेत पार्टीमा सक्रिय हुने सर्त राखेर इतर पक्षलाई शान्त पारेका छन् ।