काँग्रेसको केन्द्रीय समिति बैठक अनावश्यक लम्ब्याएको आरोप, विशेष महाधिवेशन पक्षधरले गरे अविलम्ब माग

काठमाडौँ ।  नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय समिति बैठक अनावश्यक र अस्वभाविक रूपमा लम्ब्याइएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले अविलम्ब पार्टीको विशेष महाधिवेशन आह्वान गर्न माग गरेका छन् ।

आज (आइतबार) बिहान काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा हस्ताक्षर पक्षधरहरूले यस्तो माग राखेका हुन् ।

नेतृत्वमाथि गम्भीर आरोप:

महाधिवेशन प्रतिनिधि मनोजमणि आचार्यले केन्द्रीय समितिको बैठक अनिश्चित हुनुले पदाधिकारीहरूसहित केन्द्रीय समितिको मनसाय महाधिवेशन नगर्ने र आफ्नो म्याद थप्नेतर्फ उद्यत रहेको देखिएको बताए ।

“वर्तमान केन्द्रीय समितिको यस्तो प्रवृत्ति आपत्तिजनक छ । कुनै पनि कारण देखाएर महाधिवेशन प्रतिनिधिहरूको अवमूल्यन गर्ने र महाधिवेशन टार्ने कार्य स्वीकार्य हुँदैन,” उनले भने ।

आचार्यले पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको असफलता नेपाली राजनीतिमा भएका घटनाहरूले पुष्टि गरेको जिकिर गरे । उनले केन्द्रीय कार्यसमितिले आफ्नो म्याद थपेर पार्टीको नेतृत्व गर्ने धरातल गुमाइसकेको टिप्पणीसमेत गरे ।

मङ्सिर मसान्तभित्र महाधिवेशनको माग:

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले भने मङ्सिर मसान्तभित्र विशेष महाधिवेशन गर्नैपर्नेमा जोड दिए । उनले भदौ २३ र २४ गते भएका तोडफोड, आगजनीजस्ता उग्र क्रियाकलापहरूको पक्षधर आफूहरू नरहेको र त्यस्ता घटनाहरू निन्दनीय रहेको स्पष्ट पारे ।

घिमिरेले २०४६ सालयता पार्टीको नेतृत्व गर्दाका जिम्मेवारी र हरेक निर्वाचनमा जनताले दिएको समर्थनलाई दृष्टिगत गर्दा पार्टीबाट पनि कमजोरी भएको कुरा महसुस गर्न जरुरी रहेको बताए ।

कार्यवाहक सभापतिलाई निवेदन:

बदलिँदो राजनीतिक परिवेशलाई आत्मसाथ गर्दै गत असोज २९ गते नेपाली काँग्रेसका २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहितको निवेदन पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । प्रतिनिधिहरूले पार्टीको विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै