राजर्षि जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध गर्यो: बिमलेन्द्र निधि

जनकपुरधाम । पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य बिमलेन्द्र निधिले राजर्षि जनक विश्वविद्यालयको केन्द्रीय भवन निर्माणमा नेकपा एमालेका प्रतिनिधिहरूले अवरोध गरिरहेको आरोप लगाएका छन्।

शनिबार जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निधिले धनुषा क्षेत्र नम्बर ३ र ४ बाट निर्वाचित एमालेका प्रतिनिधि तथा नेताहरूले विश्वविद्यालयको भवन निर्माणमा अवरोध खडा गरिरहेको बताए।

एमालेको भूमिकामाथि प्रश्न

निधिले राजर्षि विश्वविद्यालय स्थापनाको प्रयास भइरहेको समयमा केन्द्रीय एमालेका नेताहरूले अवरोध नगरून् भनेर धनुषाका एमाले प्रतिनिधिहरूले कांग्रेसलाई समर्थन गर्न काठमाडौँ पुगेको जानकारी दिए ।

उनले स्थापनाको समयमा धनुषाका एमाले प्रतिनिधिहरूले सहयोग गरेको बताए । तर, अहिले उल्टै एमालेका क्षेत्र नं. ३ र ४ का प्रतिनिधिहरूले नै अवरोध उत्पन्न गरेर विश्वविद्यालयको भवन निर्माण कार्यलाई रोक्ने प्रयास गरिरहेको नेता निधिले आरोप लगाए ।

निधिले धनुषाको नगराइन नगरपालिकामा समेत एमालेका नेता तथा प्रतिनिधिहरूले बजेट पास गर्न नदिरहेको बताए। उनले मेयरको अधिकार कटौती गर्ने गरी कार्यविधि बनाउन एमालेका नेता र प्रतिनिधिहरूले माग गरेको जानकारी दिए।

गठबन्धनभित्रको मतभेद र सार्वजनिक विकासमा अवरोध

सत्तारुढ गठबन्धनमा एमाले र कांग्रेस सँगै भए पनि गठबन्धनको धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने एमालेका नेताले न्यूनतम शिष्टाचार पालना नगरेको नेता निधिको आरोप छ। सार्वजनिक विकासको विषयमा अवरोध गर्नु दुःखद भएको उनले बताए।

नेता निधिले धनुषाको फुलगामामा कुनै पनि हालतमा राजर्षि जनक विश्वविद्यालयको भवन बनाएरै छोड्ने जानकारी दिए। त्यसका लागि नेपाली कांग्रेसले जे गर्नुपर्छ त्यो गर्ने प्रतिबद्धता उनले जाहेर गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै