
काठमाडौँ। भैरहवा कारागारमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेका प्रहरी सहायक निरीक्षक (सई) कमल खड्कामाथि प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने भएको छ। ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जमा कार्यरत खड्कालाई प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आदेश दिइएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार यस्तो आदेश दिए पनि खड्का अहिलेसम्म हाजिर भइसकेका छैनन्। उनी नेपालगञ्जबाट आउँदै गरेको र आइतबार वा सोमबारसम्म हाजिर भइसक्ने बताइएको छ। त्यसपछि उनीमाथि थप कारबाही अगाडि बढ्नेछ। उनलाई चेतावनी दिएर छोड्ने कि नसिहत वा निश्चित अवधिको लागि निलम्बनसहितका अन्य कारबाही गर्ने भन्ने बारेमा छलफल भइरहेको बुझिएको छ।
किन हुँदैछ कारबाही ?
सहकारी ठगी प्रकरणमा रहेका आफ्ना सभापति लामिछानेलाई रिहा गर्न दबाब दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले देशव्यापी हस्ताक्षर अभियान चलाइरहेको छ । यही क्रममा सई खड्का प्रहरीको बर्दीसहित रास्वपाको हस्ताक्षर अभियानमा सहभागी भएका थिए। नेपालगञ्जमा राखिएको कार्यक्रमस्थलमै सरकारी बर्दीमै पुगेर खड्काले हस्ताक्षर गरेका थिए ।
त्यसलगत्तै रास्वपाका कार्यकर्ताहरूले नै उनको तस्विरलाई भाइरल बनाएका थिए। कतिपयले सामाजिक सञ्जालमा खड्काले हस्ताक्षर गर्दै गरेको तस्विर राखेर लामिछानेलाई जेल हालिएकोमा प्रहरीभित्रै असन्तुष्टि बढिरहेको भन्दै विद्रोह हुन सक्ने आशयका पोष्टहरू गरेका छन्। यो घटनाले गृह प्रशासनमा समेत एक किसिमको खैलाबैला मच्चाएको छ ।
प्रहरी आचारसंहिताको उल्लंघन
घटनालगत्तै प्रहरी प्रधान कार्यालयले खड्कामाथि कारबाही प्रक्रिया सुरु गरेको हो। प्रहरी संगठनको आचारसंहिताअनुसार प्रहरी कर्मचारीहरूले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ ।
प्रहरी स्रोतका अनुसार, निष्पक्षता र संस्थाको मर्यादा कायम राख्नुपर्ने संवैधानिक दायित्व विपरीत खड्काको व्यवहारले प्रहरी संगठनको छविमा आँच पुर्याएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको हो ।
जागिरबाट अवकाश पाएपछि कुनै राजनीतिक पार्टीमा आबद्ध हुन अवरोध नभए पनि प्रहरीको सेवा अवधिभर कुनै पनि राजनीतिक पार्टीको समर्थन वा विरोध गर्न कानुनले नै निषेध गरेको छ ।