नेपाली कांग्रेसमा ‘टेरामक्स’ विवाद चर्कियो: बस्नेत र थापा पक्षबीच जुहारी

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा टेरामक्स प्रकरणलाई लिएर नेताहरूबीच आरोप-प्रत्यारोप चर्किएको छ। केन्द्रीय सदस्य मोहन बस्नेतले महामन्त्री गगन थापाकै कारण आफूमाथि भ्रष्टाचार मुद्दा लागेको आरोप लगाएपछि विवादले नयाँ मोड लिएको हो।

बुधबारको बैठकमा बस्नेतले गगन थापाले संसदभित्र र बाहिर टेरामक्सको विषय उछालेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन र अभियोजनका लागि प्रेरित गरेको दाबी गरेका थिए। उनले आक्रोशित हुँदै भने, “गगन जी तपाईं सबै नेतालाई समाउन लगाउनुस्, अनि तपाईंको के हुन्छ? नेपालमा कोही पनि चोखो छैन।” उनले नेपालको राजनीति पाकिस्तानको मोडलमा गएको समेत टिप्पणी गरे।

गगन पक्षको कडा प्रतिवाद: ‘फोहोरमा ढुंगा हानेर फोहोर बन्दिनँ’

मोहन बस्नेतको अभिव्यक्तिको साँझ महामन्त्री गगन थापाले “फोहोरमा ढुंगा हानेर फोहोर बन्दिनँ” भन्दै छोटो प्रतिक्रिया दिएका थिए। बिहीबारको केन्द्रीय समिति बैठकमा गगननिकट केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले बस्नेतको अभिव्यक्तिको कडा प्रतिवाद गरे।

सिवाकोटीले बस्नेतलाई कटाक्ष गर्दै भने, “अवसर पाउँदा नागरिकको भरोसा जित्नुको साटो बेलगाम हात्ती भएर हिँड्दा नागरिकले आरती गरेर बस्दैनन्।” उनले कांग्रेसका नेताहरूमाथि भ्रष्टाचारको आरोप लाग्दा गाउँघरका कार्यकर्ता र मतदाताको शिर कति निहुरिन्छ भन्ने हेक्का राख्न आग्रह गरे। “धान खाने मुसो चोट पाउने भ्यागुतो” जस्तो भएपछि अहिले कांग्रेसका समर्थकले नै पार्टीलाई गाली गरिरहेको सिवाकोटीको भनाइ थियो।

सिन्धुपाल्चोकको घटना र ‘द्रौपदी चीरहरण’ सँग तुलना

अजय बाबु सिवाकोटीले गत वर्ष सिन्धुपाल्चोक कांग्रेस कार्यालयको भवन उद्घाटनको प्रसंग पनि बैठकमा उठाए। उनले महामन्त्री गगन थापा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जिल्लाकै नेताहरूले बहिष्कार गर्न उर्दी जारी गरे पनि कार्यकर्ताहरू उत्साहजनक रूपमा सहभागी भएको बताए। “कोही मन परेन भन्दैमा आफ्नै जिल्लाको पार्टी कार्यालय उद्घाटन बहिष्कार गर्न सुहाउने कुरा हो?” उनले प्रश्न गरे।

सिवाकोटीले भ्रष्टाचारको मुद्दा लागेर संसद पदसमेत निलम्बनमा परेको व्यक्तिले पार्टीको भूमिकाबाट अलग बस्नुको सट्टा पार्टीका जिम्मेवार पदाधिकारीविरुद्ध विष वमन गर्नु अनैतिक भएको आरोप लगाए। उनले भने, “यहाँ भ्रष्टाचारको मुद्दाको आरोपित भएर संसदले निलम्बन गरेका व्यक्ति पार्टीको भूमिकाबाट अलग बसेर पार्टीलाई थप रक्षात्मक हुन नदिनुको साटो उल्टै केन्द्रीय समितिमा थप समय लिएर… पार्टीका महामन्त्री विरुद्ध बिष वमन गर्दा त्यसलाई टुलुटुलु हेरेर हामीले कस्तो नजिर स्थापित गर्न खोजेका हौँ?”

सिवाकोटीले बुधबारको बैठकलाई महाभारतको द्रौपदी चीरहरणसँग पनि तुलना गरे। उनले भने, “बुधवारको बैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झैँ थियो। महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धूलिसाथ बनाउँदै चरित्रहत्या गरिएको थियो।” उनले धृतराष्ट्रको सभाका सदस्यहरू दुर्योधनसँग लाचार भएजस्तै केन्द्रीय सदस्यहरू ‘एक आरोपित’ सँग लाचार भएको टिप्पणी गरे।

अन्त्यमा, सिवाकोटीले सभापति शेरबहादुर देउवाकै सामुन्ने बस्नेतले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै प्रश्न गरे, “ठुला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो? के हामीले पार्टीलाई मलययुद्धको मैदान बनाउन खोजिरहेका हौँ?” उनले यसले पार्टीको अनुशासनमा गम्भीर प्रश्न उठाएको संकेत गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै