निजामती विधेयकको ‘कुलिङ पिरियड’ विवाद चर्कियो: छानबिन र राजीनामाको माग

काठमाडौँ । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश ‘कुलिङ पिरियड’ (Cooling Period) को प्रावधानमा भएको ‘छलछाम’ लाई लिएर राजनीतिक वृत्तमा तीव्र विवाद चर्किएको छ ।

प्रतिपक्ष मात्र नभई सत्तापक्षकै सांसदहरूले समेत राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द थपिएकोमा आपत्ति जनाउँदै छानबिन र राजीनामाको माग गरेका छन्।

राजनीतिक प्रतिक्रिया र आरोप

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले ‘कुलिङ पिरियड’ व्यवस्थामा भएको चलखेलमाथि अनुसन्धान हुनुपर्ने अडान राखेका छन्।

त्यस्तै, नेकपा (एमाले) का नेता पदम गिरीले यसलाई ‘गम्भीर षड्यन्त्र’ भन्दै संलग्न व्यक्तिले नैतिकताको आधारमा पद छोड्नुपर्ने र कारबाही भोग्नुपर्ने बताएका छन्। ‘कुलिङ पिरियड’ मा ‘किर्ते’ भएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले समितिका सभापति रामहरि खतिवडाको राजीनामाको माग समेत चर्काएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापरबाही समिति सभापतिको सहयोगबिना सम्भव नहुने भन्दै खतिवडाले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

विवादको मुख्य बिन्दु: ‘बाहेक’ शब्दको थप

विवादको मूल कारण भनेको कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने गरी कानुनमा व्यवस्था गर्न संसदको राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर, समिति सभापति खतिवडाको प्रत्यक्ष संलग्नता मा वरिष्ठ प्रशासकहरूको स्वार्थलाई विधेयकमा घुसाएर ‘बाहेक’ शब्द थपी प्रतिनिधिसभाबाट पारित गरिएको आरोप लागेको छ।

सभापति खतिवडाको ‘नैतिक जिम्मेवारी’

यता, विवाद बढ्दै गएपछि सभापति रामहरि खतिवडाले विधेयकमा समावेश ‘कुलिङ पिरियड’ मा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भनी जवाफ मागेपछि खतिवडाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै