
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड प्रकरण’मा मुख खोलेका छन् ।सभामुख देवराज घिमिरेसँग सामुहिक छलफल गरी बाहिरिएका खतिवडाले आफुले सो गल्ति नगरेको जिकिर गर्दै यसमा छानबिन हुनु पर्नेमाग समेत अगाडि सारेका छन् ।
उनले यो पनि भने कि आजै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको पदाधिकारीलाई बैठकमा आमन्त्रण गरेको भए पनि नआएको समेत जिकिर गरेका छन् ।
‘यो संसदमाथिको ठूलो प्रहार हो, यत्रो ठूलो मिस्टेक कानून बनाउने कुरामा कहीँ पनि हुँदैन, त्यसमा म छानबिन गर्ने पक्षमा नै छु,’ खतिवडाले भने, ‘राजिनामा दिने नदिने कुरा पछि हुन्छ तर पहिला यसमा छानबिन गरौँ न, मेरो दोषी देखिए म तयार नै छु। तर छानबिन हुनुपर्छ, जोसुकै भए पनि कारबाही हुनुपर्छ ।’
छानबिन पछि आफनो संलग्नता भेटिएमा कारबाही भोग्न तयार रहेको बताउँदै उनले तीनवटा सर्त राखेका छन् । पहिलो, छानबिन हुनुपर्छ, दोस्रो सो बिषयमा छानबिन गरेर यो विषयको टुङ्गो नलागेसम्म समितिको बैठक बस्दैन र तेस्रो दोषी प्रमाणित भएमा राजिनामा दिन तयार, प्रमाणित नभएमा राजीनामा नदिने ।
समितिका सभापति रामहरि खतिवडामाथि समिति सदस्यहरूलाई थाहा नै नदिई विधेयकमा कुलिङ पिरियडलाई निष्क्रिय पार्ने गरी ‘बाहेक’ शब्द थप गरेको आरोप लाग्दै आएको छ । तर, उनले स्विकार र अस्विकार केही पनि गरेका छैनन् । उनले यति मात्रै जोड गरेका छन् कि यस विषयमा पहिला छानबिन हुनुपर्छ ।