
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोध विरुद्धको हस्ताक्षर अभियानमा आफ्नो ऐक्यबद्धता जनाएका छन् । आज रास्वपाको कार्यालय, बनस्थली पुगेर डा. भट्टराईले उक्त अभियानमा हस्ताक्षर गरेका हुन् ।
पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछाने हाल सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा छन् । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको कसुरमा उच्च अदालत, तुलसीपुरको बुटवल इजलासले २०८१ चैत २२ गते जिल्लाको आदेश बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
त्यसलगत्तै, लामिछानेका तर्फबाट उनकी पत्नी निकिताले थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएको थिइन् । तर, सर्वोच्च अदालतका न्यायाधीश डा. नकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले जेठ ९ गते उक्त बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिएपछि लामिछाने अझै कारागारमै छन् ।
यस कानुनी प्रक्रियाबाट निराश बनेको रास्वपाले आफ्ना सभापतिलाई ‘राजनीतिक प्रतिशोध’ को शिकार बनाइएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको छ । डा. भट्टराई यसअघि पोखरा पुगेर पनि लामिछानेलाई भेट्नुभएको थियो ।