
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसदमा दिएको एउटा अभिव्यक्तिलाई लिएर यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । ‘चिल्लो गाडीमा बसेर झलक्क बाहिर हेर्दै जनता खुसी भएको देखेको’ भनाइका लागि उनी आलोचित भएकी हुन्।
संसदमा बोल्दै राणा देउवाले भनेकी थिइन्, “पुतलीसडकमा हिजो मैले हेर्दा नेपालीहरू वेल ड्रेस्ड लगाएका, सबै जनाको हातमा मोबाइल छ, स्मार्ट्ली हिँडिरहेका छन् र अनुहारमा खुसी देखिन्थ्यो। सबै नेपालीहरू अहिले खुसी देखिएका छन्।”
उनले आफ्नो बाल्यकाल र युवा अवस्थाको अनुभव तुलना गर्दै भनेकी थिइन्, “त्यही ठाउँमा पहिला म मोटर गाडीमा हिँड्दा डोको बोकेको, नाङ्लो पसले, खर्पन बोकेको, च्यातिएका लुगा लगाएको मान्छे देखिन्थे।”
आफ्नो भनाइलाई थप प्रस्ट्याउँदै मन्त्री देउवाले हालका मानिसहरूको अवस्थाबारे अनुमान गरेकी छन्। उनी भन्छिन्, “अहिले चाहिँ उनीहरू कोही कन्सल्टेन्सीमा आएका होलान्, कोही पढ्दै होलान्, या त तिनीहरूको कोही विदेशमा होला, त्यो पैसाले पढिरहेका होलान्।” उनले यसलाई “सबै पलायन भयो, खत्तमै भयो भनेर सोच्न नहुने” तर्क गरेकी छन्।
मन्त्री राणा देउवाको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै आम नागरिक र विभिन्न क्षेत्रका व्यक्तिहरूले उनको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै आलोचना गरिरहेका छन्। उनीहरूले देशको यथार्थ आर्थिक अवस्था र वैदेशिक रोजगारीको बाध्यतालाई बेवास्ता गर्दै मन्त्रीले सतही टिप्पणी गरेको आरोप लगाएका छन्।