इजलासमा शम्भु थापा: ‘माधव नेपाललाई थुनामा पठाउनु पर्दैन, पतञ्जलि पनि गिरीबन्धु जस्तै हो’

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको थुनछेक बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपालले भ्रष्टाचार नगरेको जिकिर गरेका छन्। पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो।

थापाले अदालतसमक्ष नेपाललाई थुनामा पठाउनु नपर्ने तर्क गर्दै भने, “उहाँलाई थुनामा पठाउनु पर्दैन, मोबाइल नम्बर मात्रै राखेर छोडिदिनू। उहाँले भ्रष्टाचार गर्नुभएको छैन, अनियमितता गर्नुभएको छैन। यो मन्त्रिपरिषद्ले गरेको एउटा निर्णय हो।”

उनले पतञ्जलि जस्तो संस्थालाई नेपालमा आएर भ्रष्टाचार वा अनियमितता गर्नुपर्ने अवस्था नरहेको पनि बताए। यदि त्यसो भएको भए योगगुरु रामदेव र आचार्य बालकृष्णलाई पनि बयान लिन सकिन्थ्यो तर त्यो नगरिएको थापाले उल्लेख गरे।

थापाले पतञ्जलिले जग्गाको व्यापार नै गर्ने भए २०-३० रोपनी जग्गा किनेर बेच्न सक्ने अवस्थामा किन हदबन्दी छुट लिन्थ्यो भन्दै प्रश्न गरे।

पतञ्जलि प्रकरणलाई गिरीबन्धुसँग तुलना

वरिष्ठ अधिवक्ता थापाले पतञ्जलिलाई जग्गा हदबन्दी छुट दिएको मुद्दा र गिरीबन्धु टि इस्टेटको विषय एकै प्रकृतिको रहेको दाबी गरे। उनले प्रश्न गरे, “यहाँ मात्रै भएको हो र? गिरीबन्धुमा पनि हदभन्दा बढी जग्गा लिएकै छ, जग्गा बेचेकै छ। यस्तै निर्णय त हो नि, त्यसमा मुद्दा नचल्ने, यसमा चल्ने?”

यो बहस पूर्वप्रधानमन्त्री नेपालको पक्षबाट भएको हो, जसको मुद्दामा आजै आदेश आउने सम्भावना छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै