
काठमाडौँ । कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथिको छलफलले निरन्तरता पाएको छ। छलफलमा प्रदेशसभा सदस्यहरू कमलप्रसाद जबेगु, प्रेमराज थाम्सुहाङ, इन्दिरा थापा, तिलकुमार मेङयाङ्बो र रामदेव यादवले आ-आफ्ना धारणा राखे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेशसभा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले यातायात व्यवस्थापनमा सिटी सफारी चालकलाई सवारी अनुमतिपत्र (लाइसेन्स) दिने व्यवस्था गर्नुपर्ने बताए ।
उनले सिटी सफारी दुर्घटना भएमा चालक, धनी, बीमा कम्पनी र यात्रुसमेत प्रभावित हुने भएकाले सरकार यसमा गम्भीर बत्रुपर्ने सुझाव दिए । साथै, उनले विनियोजन विधेयकमा कृषि क्षेत्रमा बजेट न्यून रहेको र उत्पादनका क्षेत्रमा पर्याप्त बजेट विनियोजन नभएकोमा गुनासो गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले विनियोजन विधेयकमा चालु र पुँजीगत खर्चमा देखिएको अन्तर सच्याउन प्रदेश सरकारसँग आग्रह गरे ।
उनले यस्तो बजेटले लक्ष्य र उद्देश्य पूरा नहुने भएकाले सरकारले बजेट सच्याउनैपर्ने धारणा राख्दै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।
शून्य समयमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले ‘पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन प्रदेश सरकारका साथै स्थानीय तहले पनि आफ्ना नीति तथा कार्यक्रममा यसलाई समावेश गर्नुपर्ने बताए ।