रास्वपाको प्रस्टोक्ति: ‘भिजिट भिसा प्रकरण कुनै दल वा नेताप्रति लक्षित हैन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा र मानव तस्करीसम्बन्धी उठाइएको विषय कुनै विशेष दल वा नेताप्रति लक्षित नभएको स्पष्ट पारेको छ ।

सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिन लगाएको भन्ने समाचार सार्वजनिक भएपछि रास्वपाले उक्त विषयमा औपचारिक धारणा सार्वजनिक गर्दै प्रस्टोक्ति दिएको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेख्दै भनेका छन्, “हामीले पटक–पटक स्पष्ट गरिसकेका छौँ — हाम्रो आन्दोलन भिजिट भिसा र मानव तस्करीको संगठित अपराधको विरुद्ध हो। विगत १८ वर्षको अवधिमा १४ जना गृहमन्त्रीको भूमिकासमेत छानबिन होस् भन्ने हाम्रो माग हो।”

झाका अनुसार, यो अभियान कुनै एक व्यक्ति, दल वा नेताविरुद्ध लक्षित नभई प्रणालीगत समस्या विरुद्ध केन्द्रित रहेको हो। “कोही एक व्यक्तिको पछि लाग्ने हाम्रो राजनीतिक आचरण र अभ्यास हैन, र त्यो हाम्रो राजनीतिक प्राथमिकता पनि होइन,” उनले लेखेका छन्।

२ हजारभन्दा बढी पीडित सम्पर्कमा

झाका अनुसार, जेठ १४ गते रास्वपाले भिजिट भिसा र मानव तस्करीको सिकार भएका व्यक्तिलाई प्रमाणसहित सम्पर्क गर्न गरेको आह्वानपछि दुई हजारभन्दा बढी व्यक्तिहरूले पार्टीसँग सम्पर्क गरेका छन्। तीमध्ये केही व्यक्तिहरू सम्बन्धित प्रमाणसहित पार्टी कार्यालयमै पुगेका छन्।

“हामीले उनीहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक निकायमा उजुरी दिन सुझाएका हौँ,” झाले भने, “यो कुनै अस्वाभाविक कार्य हैन, एक राजनीतिक दलको नियमित अभ्यास हो।”

सासंद श्रेष्ठप्रति लक्षित समाचारप्रति आपत्ति

‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दर्ता’ गराइएको भन्ने समाचारप्रति पार्टीले गम्भीर आपत्ति जनाउँदै त्यसलाई असत्य र नियोजित भन्दै खारेज गरेको छ।

झाले लेखेका छन्, “रास्वपाले यसलाई विषयान्तर गर्ने प्रयास र संसद्को रोष्ट्रमबाट गृहमन्त्री रवि लामिछानेले पीडितहरूलाई दिएको धम्की ढाकछोप गर्न खोजिएको नियोजित श्रृंखला मानेको छ।”

उनले समाचारमा उल्लेख गरिएजस्तो सांसद श्रेष्ठले निर्देशन दिएको भन्ने दाबी आधारहीन रहेको र सत्यतामा टेकेको छैन भनेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै