कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमिति बैठक सानेपामा बस्ने छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान ८:३० बजे बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनमा शोक प्रस्ताव गर्न सो बैठक बस्न लागेको हो ।

उनले भने, “हाम्रो पार्टीको वरिष्ठ नेता र केन्द्रीय सदस्यहरु बित्दाखेरी पार्टीको आकस्मिक बैठक बसेर शोक प्रस्ताव गर्ने र ७७ जिल्लाको पार्टीको झण्डा तीन दिन आधा झुकाउने चलन छ ।”

यसैबीच समाजवादी चिन्तक, पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डीराज शास्त्रीको पार्थिव शरीरलाई बुधबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिँदै छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको असार २ गते सोमबार बिहान उपचारका क्रममा ९० वर्षको उमेरमा निधन भएको थियो । उनको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारको क्रममा निधन भएको थियो ।

समाजवादी चिन्तक शास्त्रीले कांग्रेसको राजनीतिक यात्रामा जननायक बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासहित शीर्ष नेतासँग निकटमा रहेर काम गरेका थिए ।

शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका थिए । अर्घाखाँची कांग्रेसको जिल्ला सभापतिसमेत रहेका उनी अर्घाखाँचीबाट २०४८ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै