काठमाडाैँ । काठमाडौँको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति उनीहरूलाई कारागार चलान गर्ने आदेश दिएको हो ।
कारागार चलान हुनेहरूमा दुर्गा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।
उनीहरूलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो । यस मुद्दामा अन्य ३२ जना प्रतिवादीलाई भने धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। उनीहरूलाई १० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म धरौटी तोकिएको छ ।
धरौटीमा रिहा हुनेह:रू
एक लाख रुपैयाँ धरौटी: हरिहर चौलागाईँ, सन्तोष राजावादी भन्ने सन्तोषकुमार सिलवाल, भिम भन्ने हेमराज थापा, विष्णुजंग बस्नेत भन्ने विष्णु बस्नेत ।
५० हजार रुपैयाँ धरौटी: निराजनकुमार गिरी, प्रेमबहादुर श्रेष्ठ, दिनेश खड्का, अमित शाह र जितबहादुर श्रेष्ठ ।
२० हजार रुपैयाँ धरौटी: गोपाल मल्ल, पुष्कर खतिवडा, कुमार बस्नेत, मनबहादुर काला, रमेश राई, कमल कुमार विष्ट, लोकबहादुर बस्नेत ।
१० हजार रुपैयाँ धरौटी: पशुपति खड्का, विष्णु पराजुली, मुनेन्द्रराज भण्डारी, अनिलकुमार थापा, गोपाल बोहरा भन्ने तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, देवीप्रसाद संग्रौला, प्रेम थापा मगर, ओमप्रकाश लुइँटेल, तेजेन्द्र रायमाझी, दिवश बोगटी क्षेत्री, दिलकुमार श्रेष्ठ, सुमन कार्की र मनोजकुमार सापकोटा ।
यस मुद्दाका ११ जना प्रतिवादीहरू भने फरार रहेका छन्, जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा लगायत छन् ।