
काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुंगेलका अनुसार मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। यसपटक मतदान प्रक्रिया छरितो बनाउन विद्युतीय मेसिन प्रयोग गरिनेछ । बुधबार उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भइसकेको छ भने सबै मेसिनमा उम्मेदवारका नामसमेत राखिसकिएको छ ।
अध्यक्ष पदका लागि प्रकाश पौडेल र डा. सुजन कँडरियाबीच प्रतिस्पर्धा हुँदैछ । खुला उपाध्यक्ष पदमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी र गणेशबहादुर शाही उम्मेदवार छन् ।
महिला उपाध्यक्ष पदमा सुजिता धिताल, अञ्जना सिवाकोटी, भवानी बजगाईं र आरती भट्टराईको उम्मेदवारी परेको छ ।
महासचिव पदका लागि आरके रोमश, दीपक धामी र सुनिल कँडेलबीच प्रतिस्पर्धा हुनेछ।
निवर्तमान अध्यक्ष समिक बडालका अनुसार कागजी मतपत्रको झन्झट हटाउन र प्रक्रिया सरल बनाउन विद्युतीय मतदान प्रणाली अपनाइएको हो ।
राम–लक्ष्मण इनोभेसनका सञ्चालक लक्ष्मण रिमालका अनुसार मतदानका लागि ४३ वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ ।
महाधिवेशनमा देशभरबाट आएका करिब १,५४३ जना प्रतिनिधिले मतदान गर्नेछन्। हालसम्म विभिन्न पदमा ५१९ जनाको उम्मेदवारी परेको छ। एक जनाले मतदान गर्न करिब १५–२० मिनेट लाग्ने अनुमान गरिएको छ ।
यसपटकको महाधिवेशन विशेष पनि छ, किनभने अनेरास्ववियुमा पहिलो पटक ३२ वर्ष उमेरहद कायम गरेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो। महाधिवेशन यही जेठ २५ गतेदेखि सुरु भएको हो ।