
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकताको विषयमा छलफल चलिरहेको बताएका छन् ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी माओवादी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई मंगलबार खुमलटारमा स्वागत गर्दै प्रचण्डले नेकपा विप्लव समूह र नेकपा (एकीकृत समाजवादी) सँग एकताको संवाद अघि बढिरहेको जानकारी गराए ।
‘विप्लव नेतृत्वको नेकपा र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग मोर्चा त बनेको छ। अब पार्टी एकताको विषयमा पनि छलफल चल्दैछ,’ प्रचण्डले भने । उनका अनुसार महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) पनि छिट्टै एकताको प्रक्रियामा सहभागी हुँदैछ ।
उनले पार्टीमा पछिल्लो समय जनआकर्षण बढिरहेको भन्दै आगामी २०८४ सालको निर्वाचनमा पहिलो शक्ति बन्ने दाबी गरे। ‘२०६४ सालमा जस्तै अहिले फेरि माओवादीप्रति जनताको आकर्षण बढेको छ,’ उनले भने ।
पार्टी प्रवेश र समायोजन अभियानले संगठनलाई थप सशक्त बनाउने र नयाँ नेताहरूलाई उपयुक्त जिम्मेवारी दिइने प्रचण्डले स्पष्ट पारे । ‘छिट्टै केन्द्रीय समिति बैठक बस्छौं। एकता र सशक्त संगठन निर्माणका लागि नयाँ योजना ल्याइन्छ,’ उनले उल्लेख गरे ।