काठमाडौँ । तिलोत्तमा–१३, कोटिहवामा, रुपन्देहीको टाईगर प्यालेश वाई सोल्टी नजिकै शान्त र हरियाली वातावरणमा विकसित यो परियोजनाले प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य राखेको छ। प्राकृतिक परिवेश, खुला स्थान र मौलिक संरचनाको शैलीले यस होटललाई अन्य परम्परागत होटलभन्दा अलग बनाउँछ।
होटल परिसरमा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन आगन्तुकको मुख्य आकर्षण बनेको छ। यहाँ बाह्रसिंगे बियरका सबै भेराइटी ड्राफ्ट प्रणालीमार्फत धारा जडान गरी, कारखानामा जस्तै ताजगी र स्वादमा उपलब्ध छन्। खुला आकाशमुनि हरियाली वातावरणमा बसेर ताजा बियरको अनुभव लिन पाउने सुविधा यस क्षेत्रमै नयाँ अनुभवका रूपमा प्रस्तुत गरिएको छ।
साथै काठबाट बनेको रेस्टुरेन्टमा अनुभवी शेफद्वारा तयार गरिएका नेपाली र भारतीय परिकारहरू सुपथ मूल्यमा उपलब्ध छन्। लाइभ म्युजिकको साथमा परिवार वा साथीहरूसँग समय बिताउन मिल्ने वातावरणले आगन्तुकलाई सहज र आत्मीय अनुभूति दिन्छ।
हाल होटलमा काठबाट बनेका २० वटा लक्जरी भिल्ला तथा कोठा प्रारम्भिक सञ्चालनमा छन्। प्राकृतिक सामग्री प्रयोग गरी निर्माण गरिएका यी संरचनाले वातावरणमैत्री सन्देश मात्र दिन्छन्, बसाइलाई पनि विशिष्ट अनुभव बनाउँछन्।
डान्स क्लब, स्पा सेवा र बैंकेट हल समेत सञ्चालनमा आइसकेका छन्। बैंकेट हलमा १५०० व्यक्तिसम्मको क्षमता भएको कार्यक्रम आयोजना गर्न सकिन्छ, जसमा निजी कार्यक्रम, संस्था तथा संगठनले कार्यक्रम गर्न सक्ने सुविधा उपलब्ध छ।
करीब ५ बिघा क्षेत्रफलमा विस्तार भइरहेको यस परियोजनामा हालसम्म करिब १५० करोड रुपैयाँ लगानी भइसकेको छ। थप १५० करोड रुपैयाँ लगानी गरी कुल ३०० करोडको पाँचतारे रिसोर्ट विकास गर्ने योजना रहेको सञ्चालक मिनराज भुसालले जानकारी दिएका छन् । आगामी चरणमा स्वीमिङ पुल, क्यासिनो, गार्डेन, बालबालिकाको खेल क्षेत्रसहित थप ८० वटा काठबाट बनेका भिल्ला निर्माण गरिने योजना अघि बढाइएको छ ।
स्वदेशी उत्पादन हुने सल्लो र साल जस्ता काठ प्रयोग गरेर इन्जिनियरिङ मापदण्डअनुसार संरचना निर्माण गर्दा नक्सा स्वीकृतिमा स्पष्ट कार्यविधि नहुँदा चुनौती भएको सञ्चालकले बताएका छन्। बाँस संरचनाका लागि कार्यविधि बनेजस्तै, स्वदेशी काठ प्रयोगमा पनि स्पष्ट कानुनी आधार तय हुनुपर्ने माग गरिएको छ। यसले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र स्थानीय उद्योग तथा रोजगारीलाई टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।
हाल करिब ७० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिएको होटलले पूर्ण सञ्चालनपछि अझ ठूलो संख्यामा रोजगारी सिर्जना हुने जनाएको छ। व्यवसाय प्रवर्द्धन भए मात्र दीगो रोजगारी सम्भव हुने भन्दै, लगानीको सुरक्षा र संरक्षणमा सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको सञ्चालकको भनाइ छ ।
लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि फरक अनुभव दिने लक्ष्यसहित अघि बढेको यो परियोजना प्रदेशकै नमुना पर्यटन गन्तव्य बन्ने अपेक्षा गरिएको छ ।