काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धक छनोट प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू भइसकेको अवस्थामा नियुक्ति प्रक्रिया अघि बढाउनु नियमविपरीत हुने भन्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
चिरञ्जीवी उपाध्यायले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले नियुक्तिसम्बन्धी बाँकी प्रक्रिया जहाँ छ त्यहीँ रोक्न अन्तरिम आदेश दिएको हो । साथै, अदालतले विपक्षी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न ‘कारण देखाऊ आदेश’ समेत जारी गरेको छ ।
नियुक्ति प्रक्रिया कहाँ पुगेको थियो ?
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सचिवको संयोजकत्वमा महाप्रबन्धक छनोट समिति गठन गरी प्रक्रिया अघि बढाएको थियो। समितिले माघ ४ गते १० जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो ।
छनोट समितिले सर्टलिस्टमा परेका उम्मेदवारहरूसँग बुधबार र बिहीबार मात्रै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण लिएको थियो । छनोटको अन्तिम चरणमा पुगेका बेला अदालतको यो आदेशले निगमको नेतृत्व चयन प्रक्रिया अन्यौलमा परेको छ ।