
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्न र यसलाई २४ सै घण्टा खुला राख्न जरुरी रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको ‘अर्थतन्त्र दशक जर्नल’ सार्वजनिक तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
रात्रिकालीन पर्यटनमा अवरोध र यसको समाधान
पाण्डेले ठमेल, पोखरा, सौराहा लगायतका पर्यटकीय क्षेत्रहरू राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने धारणा राखे। उनले भने, “९ बजे होटल बन्द गर्छन्। ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन्। सुत्न नपाएर नेपाल आएको पनि होइन। पुलिस जान्छ सेक्युरिटी छैन भन्छ। त्यो स्पेसल पुलिस राख्नुपर्छ। किन ९ बजे नै बन्द गर्ने?”
उनले पर्यटकहरू विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै, पर्यटकहरूका लागि पर्यटन क्षेत्रहरू २४ सै घण्टा खुला गर्नुपर्नेमा जोड दिए।
पर्यटनको आर्थिक महत्त्व र नयाँ सम्भावना
उपाध्यक्ष पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई अघि बढाउने ठूलो पुलको काम गर्ने उल्लेख गरे। “त्यसलाई विस्तार गर्नुपर्छ। मजदुरले काम पाउँछन्। व्यवसायीको बिक्री हुन्थ्यो, समग्र अर्थतन्त्रमा सहयोग पुग्छ,” उनले भने।
पाण्डेले भारतबाट नेपालमा विवाह गर्न आउनेहरूको ठूलो सम्भावना रहेको बताउँदै त्यसका लागि व्यवस्थापन राम्रोसँग गर्नुपर्ने आवश्यकता औंल्याए ।