अर्थमन्त्री पौडेलद्वारा पर्यटनलाई समृद्धिको आधार घोषणा, निजी क्षेत्रको लगानीमा जोड

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्। शनिबार काठमाडौंमा अर्थतन्त्र डटकमको अर्थतन्त्र दशक जर्नल सार्वजनिक तथा ‘पर्यटनमा बजेट प्राथमिकता, कार्यान्वयन र उपलब्धीबारे’ आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

पर्यटनलाई आर्थिक विकासको इञ्जिन बनाउन सकिने उल्लेख गर्दै मन्त्री पौडेलले संसारकै सबैभन्दा लामो केबलकार नेपालमा निर्माण गर्न सके देशको पर्यटन र अर्थतन्त्रमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरे। सरकारले गरिरहेका कार्यहरूको मूल्यांकन जनताले गरिरहेकाले थप सजक भएर काम गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए।

पर्यटनमा अनगिन्ति सम्भावना

अर्थमन्त्री पौडेलले समृद्धिका लागि धेरै सम्भावनाहरू रहेको र पर्यटन क्षेत्र तीमध्येको एक महत्त्वपूर्ण क्षेत्र भएको उल्लेख गरे। उनले नेपालमा पर्यटनको अनगिन्ति सम्भावना रहेको बताए।

“राज्यको लगानी यो पर्यटकीय दृष्टिकोणले आकर्षक गन्तव्य हो भनेर सन्देश दिने, स्वदेश र विदेशका निजी क्षेत्रलाई ‘जाऔँ, लगानी गर्न नेपालमा’ भनेर आकर्षित गर्ने कामका लागि राज्यले काम गर्छ,” अर्थमन्त्री पौडेलले भने, “पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी आवश्यक पर्दछ। त्यही हिसाबले बजेट निर्माण गर्दा पनि त्यसलाई हेक्का राखेका छौँ।”

उनका अनुसार नेपालसँग अन्य देशमा नभएका अद्वितीय प्राकृतिक स्रोतहरू छन्, जसले नेपाललाई विश्वमै छुट्टै पहिचान दिलाउन सक्छ। ‘विदेशमा सबैथोक बनाउन सकिए पनि लुम्बिनी, पशुपति वा हाम्रो जस्ता प्राकृतिक नदी–झरना जस्ता सम्पदा बनाइँदैन,’ उनले दाबी गरे ।

लगानी प्रवर्द्धनमा सरकारको जोड

पर्यटन क्षेत्रमा लगानी प्रवर्द्धन गर्न जरुरी रहेको बताउँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले देशभित्रको लगानी र बाहिरको लगानी आकर्षित गर्न सरकारले काम गरिरहेको बताए। उनले नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रलाई अझ प्रभावकारी बनाउने हो भने राज्यको लगानी मात्र पर्याप्त नहुने बताउँदै  विदेशी लगानी र साझेदारीलाई अपरिहार्य आवश्यकता रहेकाे उल्लेख गरे  ।

“समृद्धिका निम्ति हामीसँग अरू विभिन्न कुराहरू छन्। त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो। यसको अनगिन्ति सम्भावना छ। हामीले क्रमशः यो क्षेत्रमा लगानी प्रवर्द्धन गर्नुपर्छ,” अर्थमन्त्री पौडेलले भने, “हाम्रो देशभित्रको लगानी, विदेशको लगानी, राज्यको लगानी मात्रैले पुग्दैन।”

उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिँदै विकास र समृद्धितर्फ अघि बढ्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै